१७ साउन, बागमती । मकवानपुरमा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ परेका छन् ।
मकवानपुरगढी गाउँपालिका–५ बुङदोलस्थित ससुरालीमा बस्दै आएका ४५ वर्षीय मानबहादुर शिवभक्तिले घाँटी थिचेर आफ्नै श्रीमती ४० वर्षीया दुर्गालक्ष्मी शिवभक्तिको हत्या गरेको अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको हो। प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले घरमा कोही नभएको मौका छोपी मानबहादुरले घाँटी थिचेर श्रीमती दुर्गालक्ष्मीको हत्या गरेको अभियोगमा उनलाई पक्राउ गरिएको बताएका छन् ।
पक्राउ परेका मानवबहादुरले श्रीमती पक्षघातको बिरामी भएर हिँड्डुल गर्न नसक्ने अवस्थामा रहेकाले आफू तनाबमा आई श्रीमतीको घाँटी थिची हत्या गरेको स्वीकार गरेका थिए । आफू झुण्डिएर आत्महत्या गर्न खोज्दा डोरी चुडिएपछि प्रहरीको सम्पर्कमा आएको भनेर उनले प्रहरीमा बयान दिएको छन् ।
दुर्गालक्ष्मीको शव परीक्षणका लागि हेटौंडा अस्पताल ल्याइएको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको हो ।





