१८ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले केपी शर्मा ओली नेतृत्वको सरकार पारदर्शी, जवाफदेही र उत्तरदायी नभएका कारण जनताले सुशासनको अनुभूति गर्न नसकेको बताएका छन् ।
विराटनगरमा आइतबार आयोजित कायक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको सरकार समेत जनताप्रति पारदर्शी, जवाफदेही र उत्तरदायी हुन नसकेको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका छन् । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका ठिक ढंगले संचालन हुन नसकेका कारण लोकतन्त्र नै खतरामा रहेको उनको टिप्पणी थियो ।
लोकतन्त्र रक्षाका लागि भएता पनि पुनः आन्दोलन गर्नुपर्ने अवस्था आएको उनको दावी छ । देशको वर्तमान निर्वाचन प्रणालीका कारण पनि मिलिजुली सरकार बनाउन बाध्यता भएको नेता कोइरालाले बताएका थिए । तर सरकार धेरै राजनीतिक दल मिलेर बनाएता पनि पार्टीको विचार, सिद्धान्त र व्यवहारलाई भने छोड्न नहुने उनको भनाइ छ ।





