आर्थिक

विद्युत आपूर्तिको मागसँगै चुनौती पनि दैनिक रूपमा बढ्योः उर्जामन्त्री खड्का

२० साउन, काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले विद्युत आपूर्तिको माग दैनिक रुपमा बढिरहेको बताएका छन् ।

काठमाडौंमा मंगलबार नेपाल सौर्य विद्युत उत्पादक संघको रजत जयन्ती समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । सरकारले विद्युतका मार्फत प्रत्येक नागरिकको घरमा उज्यालो दिनुपर्ने कार्य पुर्‍याउन नसकेको नेपालमा सौर्य विद्युत उत्पादनमार्फत विद्युत आपूर्ति हुनु राम्रो कुरा भएको उनको भनाइ छ । उनले सिंचाई गर्न नसकेको ठाउँमा सिञ्चित गरेर सौर्य उर्जामार्फत पम्पिङहरु गरेर त्यस्ता ठाउँमा सिंचाई गरेर योगदान दिनु सकारात्मक पक्ष रहेको बताएका थिए ।

विद्युतको आवश्यकता एकातिर दैनिक रुपमा बढिरहेको र अर्कोतिर चुनौती पनि बढिरहेको उनको भनाइ छ । विद्युत उत्पादनलाई हरेक नागरिक र मुलुकको आय आर्जनसँग जोड्ने गरी काम गरिरहेको पनि उनले बताएका थिए । १० वर्षभित्र २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको बताउदै उनले लक्ष्य पूरा गर्न सबैको सहयोग आवश्यक रहेको मन्त्री खड्काले बताएका छन् ।

मन्त्री खड्काले वातावरणीय असर र चुनौतीहरु कायम रहेका कारण समाधान गर्न सबै मिल्नुको विकल्प नरहेको समेत बताएका थिए ।