२० साउन, काठमाडौं। विश्वास बहुउदेश्यीय सहकारी संस्था लिमिटेडका दमन्ता घिमिरेले बचतकर्ताहरूको ५ करोड रुपैयाँ ठगी गरेर फरार भएका छन् ।
काठमाडौं महानगरपालिका–१० न्यूरोडमा रहेको सोही सहकारीका अध्यक्ष घिमिरेसहित ७ जना पदाधिकारीहरु फरार भएको प्रहरीले जनाएको हो । फरार हुनेहरुमा सहकारीका अध्यक्ष ४३ वर्षीय घिमिरे, सचिव ३८ वर्षीय अमृत कटुवाल, सहसचिव २५ वर्षीय गोपाल अधिकारी, कोषाध्यक्ष ४४ वर्षीया भारती न्यौपाने गौतम, सदस्य २९ वर्षीया अनिता थापा र सदस्य ३८ वर्षीय रोहित खड्का रहेको प्रहरीले बताएको छ ।
लामो समयसम्म फरार भएपछि उनीहरुलाई फरार प्रतिवादी बनाउँदै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । उनीहरुविरुद्ध यसअघि पनि मुद्दा दर्ता भएको थियो । २०८० साल माघ २६ गते १ करोड ४९ लाख ९७ हजार २ सय १३ रुपैयाँ ठगी गरेको दावी गर्दै मुद्दा दर्ता भएको थियो । लामो समयसम्म खोजी गर्दा पनि उनीहरुलाई फेला पार्न नसकेपछि फरार प्रतिवादी बनाएर प्रतिवेदन बुझाइएको जिल्ला प्रहरी परिस काठमाडौंले जनाएको छ ।
मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २४९ को ठगी गर्न नहुने कसुरमा उनीहरुविरुद्ध मुद्दा दायर भएको हो । जस अनुसार ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था रहेको छ ।




