२१ साउन, काठमाडौं । नेपाली कांग्रेस रोल्पाले द्वन्द्व प्रभावितका नाममा पार्टीको लेटरप्याड, छाप र हस्ताक्षरको दुरूपयोग गरेर अमेरिका लगायतका देश गएकाहरूमाथि निगरानी गर्ने भएको छ।
रोल्पा सभापति किशोर कुमार आचार्यले बुधबार एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी गराएका हुन् । कांग्रेस रोल्पा कार्यसमिति र अन्य तहहरू समेतको नक्कली लेटरप्याड, छाप र हस्ताक्षर प्रयोग गरेको पाइएकोले त्यस प्रकृतिका घटनामाथि निगरानी भइरहेको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
‘कांग्रेस जिल्ला जिल्ला कार्यसमिति रोल्पा र अन्य तहहरू समेतको नक्कली लेटर प्याड, छाप र हस्ताक्षर प्रयोग गरी विभिन्न व्यक्तिहरूले आफू कांग्रेसको साधारण सदस्य, क्रियाशील सदस्य भएर पार्टीको हरेक गतिविधिहरूमा सक्रिय भएको कारण द्वन्द्व प्रभावित भएको, माओवादी पार्टीका कार्यकर्ताले दुःख दिएको, धम्की दिएकोले नेपालमा बस्न नसकि जीवनरक्षाका लागि विदेश ९अमेरिका लगायतका० देशमा आउनुपरेको भनि गलत सिफारिस बनाएर सम्बन्धित देशमा पेश गरेको र गर्ने प्रक्रियामा रहेको बुझिएका कारण यस सम्बन्धमा कांग्रेस रोल्पाको गम्भीर ध्यानाकर्षण भएको जारी विज्ञप्तिमा भनिएको छ ।’
यस प्रकारका गलत, भ्रामक र कानून विपरितका कार्यहरूको बारेमा सम्बन्धित देश (विदेश) रहेका पार्टी जनसम्पर्क समितिको सहयोग र सम्बद्ध सबैसँग सहकार्य गरेर सत्य तथ्य पत्ता लगाउने पनि कांग्रेस रोल्पाले जनाएको हो । सोही सम्बन्धमा सबै देशका नेपालस्थित राजदूतावास समेतमा पार्टीको तर्फबाट कुटनीतिक पहल गरी आवश्यक प्रकृया अगाडि बढाउने समेत कांग्रेसले जनाएको छ ।
गलत क्रियाकलाप नगर्न नगराउन सम्बद्ध सबै निकायलाई जानकारी गराइएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।






