२१ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राष्ट्रपति र उपराष्ट्रपति भइसकेको व्यक्ति पार्टी सदस्य हुन नपाउने व्यवस्था गर्न लागेको छ।
पार्टीको बुधबार बसेको सचिवालय बैठकमा विधानको धारा १३ को योग्यता खण्ड संशोधन गरी राष्ट्रपति, उपराष्ट्रपति, उच्च अदालतको न्यायाधीश, विशेष अदालतको न्यायाधीश र सर्वोच्च अदालतको प्रधानन्यायाधीश पार्टी सदस्य बन्न योग्न नहुने प्रावधान प्रस्ताव गरिएको रास्वपाले जनाएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग र राष्ट्रिय मानवअधिकार आयोगको सदस्य वा पदाधिकारी पनि पार्टी सदस्य बन्न नपाउने प्रस्ताव गरिएको छ।
त्यस्तै, नेपाल सरकारको मुख्य सचिव र संसद सचिवालयको महासचिव भइसकेको व्यक्ति सेवाबाट सेवानिवृत्त भएको २ वर्ष पुगेपछि मात्रै सदस्यका लागि योग्न हुने गरी प्रस्ताव गरिएको रास्वपाले जनाएको हो । नेकपा एमालेको नवौं केन्द्रीय कमिटी बैठकले पनि राष्ट्रपति भइसकेको व्यक्ति पार्टी राजनीतिमा फर्कन नमिल्ने निर्णय गरेको थियो। एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको नवीकरण भइसकेको पार्टी सदस्यता समेत रोकेको थियो।
माओवादी केन्द्रले भने उपराष्ट्रपति नन्दबहादुर पुनलाई पार्टी जिम्मेवारीमा नै फर्काएको छ। पुन अहिले माओवादी केन्द्रका उपाध्यक्ष बनेका हुन्। पुन ७ वर्ष उपराष्ट्रपति भएर बाहिरिएपछि राजनीतिमा प्रवेश गरेका हुन् ।





