२१ साउन, काठमाडौं । देशैभरी परेको अविरल वर्षा पछि आएको बाढी र पहिरोबाट ७ वटा राजमार्ग पूर्ण रूपमा अवरोध भएका छन् ।
प्रहरी प्रधान कार्यालयले वर्षाका कारण देशैभरी ७ मुख्य राजमार्ग अवरोध भएका हुन् । अवरोध हुनेमा सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित कोशी राजमार्ग, रसुवाको गोसाइकुण्ड गाउँपालिकास्थित नेपाल चीन नाका जोड्ने पुल, रसुवाको गोसाइकुण्ड गाउँपालिकास्थित पासाङल्हामु राजमार्ग र सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्ग पूर्णरूपमा अवरोध भएको छ ।
त्यस्तै, म्याग्दीको अन्नपूर्ण गाउँपालिकास्थित कालिगण्डकी करिडोर, गुल्मीको रुरु गाउँपालिकास्थित रिडी तम्घास सडक र रुकुम पश्चिमको आठबिसकोट नगरपालिकास्थित जाजरकोट डोल्पा भेरी करिडोर सडक खण्ड पूर्ण रूपमा अवरोध भएको प्रहरीले बताएको हो ।
त्यस्तै, काठमाडौंको टोखाबाट नुवाकोट जाने सडकखण्ड, तेह्रथुमको मध्यपहाडी राजमार्ग, महोत्तरीको पूर्वपश्चिम लोकमार्ग, रसुवाको गल्छी त्रिशुली सडक, बागलुङको कालिगण्डकी करिडोर र मध्यपहाडी राजमार्ग, नवलपरासी पूर्वको कालिगण्डकी करिडोर, मुस्ताङको वेनी जोमसोम सडक र तनहुँको पृथ्वी राजमार्ग एकतर्फीरूपमा सञ्चालनमा आएका छन् ।
त्यसैगरी, अर्घाखाँचीको सन्धीखर्क गोरुसिङ्गे सडक, दाङको राप्ती राजमार्ग, रोल्पाको सहिद राजमार्ग र दैलेखको दैलेख सुर्खेत सडकखण्ड पनि एकतर्फी रूपमा सञ्चालन भएको कार्यालयले जनाएको हो ।





