समाचार

राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गर्न सांसदको माग

२३ साउन, काठमाडौं । राष्ट्रिय सभाका सांसदहरुले राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गर्न माग गरेका छन् ।

राष्ट्रिय सभाको शुक्रबार बसेको बैठकमा समय लिएर बोल्दै उनीहरुले यस्तो माग गरेको हुन् । सिंचाइका लागि अत्यावश्यक ठूला र राष्ट्रिय गौरवका आयोजना तोकिएको समयमा पूरा नहुँदा सुक्खा क्षेत्रका नागरिक समस्यामा परेका सांसदहरुले गुनासो गरेका छन् ।

बैठकमा विशेष समयमा सांसद युवराज शर्माले राष्ट्रिय गौरवका आयोजनालाई समयमै पूरा गर्ने गरी प्रक्रिया अगाडि बढाउन माग गरेका थिए । उनले मधेश सुक्खाग्रस्त क्षेत्र बन्दै गएको समयमा चुरे क्षेत्रका ढुङ्गा र गिट्टी निकासी रोक्नुपर्नेमा जोड दिए । सांसद शर्माले कानूनी शासनको प्रत्याभूूति गराउनुपर्ने र सरकारी निकायमा खर्च कटौतीको प्रस्तावलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्नेमा उनको जोड छ ।  

त्यस्तै, सांसद मायाप्रसाद शर्माले भारतको उत्तराखण्डमा गएको भीषण बाढीमा परेर नेपाली नागरिक बेपत्ता भएको जानकारी गराएका छन् । उनले उनीहरुको खोजी तथा उद्धारको पहल गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । यहि साउन २० गते भारतको उत्तराखण्डको उत्तरकाशीको धराली गाँउमा आएको बाढीका कारण २२ जना नेपाली सम्कर्पविहीन भएको र त्यसमा जाजरकोट, बर्दिया र धादिङका नागरिक परेको उनले उल्लेख गरेका छन् ।

सांसद शर्माले निर्वाचन आयोगले अगाडि सारेको ‘राजनीतिक दल स्वमूल्यांकन कार्यविधि, २०८२’ प्रति आपत्ति व्यक्त गर्दै राजनीतिक दलको मूल्यांकन नेपाली जनताले निर्वाचन मार्फत गर्ने तर्क गरेका छन् । उनले निजामती सेवा विधेयकलाई शीघ्र अगाडि बढाउन माग समेत गरेका थिए । 

–––