२३ साउन, काठमाडौं । कार्यवाहक प्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सिंहदरबारभित्र निर्माणाधीन संघीय संसद भवनको काममा विगतका कमीकमजोरी दोहोरिन नदिने गरी काम भइरहेको बताएका छन् ।
संघीय संसद्को राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा शुक्रबार बोल्दै उनले यस्तो बताएका हुन् । सिंहदरबारस्थित निर्माणाधीन संद्दीय संसद् भवन निर्माणको हालको कार्यतालिका र सो कार्यतालिका कार्यान्वयन सुनिश्चित गर्ने मन्त्रालयको तयारी सम्बन्धमा शुक्रबार भएको छलफलका क्रममा उनले समयमै काम सक्न निर्माणमा संलग्न व्यवसायीलाई निर्देशन दिएका थिए ।
समितिका सदस्यहरुले उठाएका जिज्ञासाको जवाफ दिँदै कार्यवाहक प्रधानमन्त्री सिंहले नयाँ संसद भवन निर्माणको काममा लापरवाही गर्ने सरोकारवाला निकायको पटक–पटक ध्यानाकर्षण गराइएको जानकारी दिएका थिए। थप गरिएको अवधिभित्रै काम सक्ने गरी विश्वसनीय कार्ययोजना अनुसार अहिले काम भइरहेको र सोही कार्यको मन्त्रालय तथा विभागबाट अनुगमन भइरहेको उनको भनाइ छ।
उनले भनेका छन्,-'नयाँ संसद् भवनको काम समयमै नसकिएकोबारे सबै जानकार छौंं । तोकिएको समयमा काम नगर्नेमाथि मन्त्रालयले कडाइ गरिरहेको छ। काम भइरहेको छ। संसद् भवनको काम पनि कार्यतालिका बनाएर अघि बढेको छ। सरकारले विगतका कमी,कमजोरीलाई नियालेर उक्त कमजोरी अब दोहोरिन नदिने गरी काम गरिररहेको छ।' काम समयमै सक्न मन्त्रालयदेखि सम्बन्धित इञ्जिनीयर, महानिर्देशक र आयोजना प्रमुखलाईसमेत बोलाएर निर्देशन दिइसकेको मन्त्री सिंहले बताएका छन् ।
त्यस्तै, मन्त्रालयका सचिव गोपाल सिग्देलले आगामी पुस दोस्रो हप्ता सम्पन्न गर्नेगरी कार्यतालिका बनाएर काम भइरहेको दावी गरेका छन् । आगामी अधिवेशन नयाँ संसद भवनबाटै सञ्चालन गर्ने गरी काम भइरहेको उनले उल्लेख गरेका थिए । तालिका अनुसार काम अघि बढ्नेमा आफू विश्वस्त रहेको उनको भनाइ छ ।
त्यस्तै, समितिका सदस्यहरुले आगामी अधिवेशन नयाँ संसद भवनबाट सञ्चालन गर्ने गरी काम सक्नुपर्नेमा जोड दिएका छन् ।





