आर्थिक

राष्ट्रियसभाको बैठकबाट ‘जलस्रोत विधेयक’ सर्वसम्मतिले पारित

२३ साउन, काठमाडौं । राष्ट्रिय सभाको बैठकले ‘जलस्रोत विधेयक, २०८१’ लाई सर्वसम्मतिले पारित गरेको छ ।
राष्ट्रिय सभाको शुक्रबार बसेको बैठकले सोही विधेयक पारित गरेको हो ।

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘जलस्रोत विधेयक,२०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पेश गरेका थिए । त्यसअघि विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘जलस्रोत विधेयक, २०८१ माथि बैठकमा छलफल गरिएको थियो । छलफलमा सांसदहरु विष्णुबहादुर विश्वकर्मा, कृष्णबहादुर रोकाया, राधेश्याम पासवान, गोपाल भट्टराई र तारामान स्वाँरले सोही विधेयकका विभिन्न पक्षमा आफ्नो धारणा राखेका थिए । 

सांसदहरुले उठाएका जिज्ञासाको जवाफमा ऊर्जामन्त्री खड्काले जलस्रोतको उपयोग, व्यवस्थापन गर्ने उद्देश्यका साथ जलस्रोत विधेयक प्रस्तुत गरिएको बताएका हुन्। उनले संविधानमा नै समावेशीताको प्रबन्ध भएकाले विधेयकमा दलित लगायतका विषय उल्लेख गर्नुनपर्ने सबै सदस्यको धारणा रहेकाले सोही अनुसार गरिएको जानकारी गराएका थिए। विधेयकमा उल्लेख भएको बाँधको सुरक्षाको विषयलाई थप प्रष्ट पारिएको उनले बताएका थिए।  

त्यस्तै,यहि साउन ५ गते ८५ वर्षको उमेरमा निधन भएका प्रतिनिधि सभाका पूर्वसदस्य खगराज शर्माको निधनप्रति दुःख व्यक्त गर्दै बैठकले शोक प्रस्ताव पारित गरेको छ। राष्ट्रिय सभाको अर्को बैठक यहि साउन २७ गते मंगलबार दिउँसो सवाँ १ बजे बस्ने संसद सचिवालयले जनाएको हो।