२३, साउन, एजेन्सी । जापानको दक्षिणी भागमा शुक्रबार भारी वर्षा भएको छ ।
अधिकारीहरूले बासीन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेका हुन् । स्थानीयहरूले यस अघि कहिल्यै नदेखेको ‘अत्यधिक वर्षा’ भएको बताएका छन् । जापानका विभिन्न भागमा गर्मी बढेपछि यो हप्ता ४१ दशमलव ८ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो । टेलिभिजन फुटेजमा कागोशिमा क्षेत्रका घरहरू डुबानमा पर्नका लागि यसको किनारमा धमिलो र तीव्र गतिमा पानी बगिरहेको देखाइएको छ।
स्थानीय सञ्चारमाध्यमका अनुसार किरिसिमा शहर कागोशिमामा गत २४ घण्टामा शुक्रबार बिहान ५ बजेसम्म ५ सय मिलिमिटर वर्षा भएको छ । जुन अगस्ट महिनाको औसत वर्षा भन्दा दुई गुणा बढी हो । जापानको मौसम विज्ञानमामिला निकाय (जेएमए) ले यस क्षेत्रमा ‘पहिले कहिल्यै अनुभव नगरिएको भारी वर्षा भइरहेको जनाएको हो । तर भारी वर्षाको लागि उच्च सतर्कताको चेतावनीलाई कम गरिएको छ।
जेएमएका अधिकारी शुइची ताचिहाराले पत्रकार सम्मेलन मार्फत वर्षाजन्य जोखिमको चेतावनीलाई कम गरिएको भएता पनि कृपया सतर्क रहन र आफ्नो सुरक्षा सुनिश्चित गर्नका अनुरोध गरेका छन् । उनले भनेका छन्,-‘कम वर्षाले पनि विपद्को जोखिम बढाउन सक्छ । कृपया पहिरो र नदीमा आउने बाढीका लागि उच्च सतर्कता अपनाउनुहोस्।’
किरिशिमाका १ लाख २२ हजार भन्दा बढी बासीन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ । छिमेकी मियाजाकी क्षेत्रका बासीन्दाका लागि चेतावनी हटाइएको हो । वर्षाका कारण यसअघि ५० लाख भन्दा बढी मानिसलाई घर छोड्न आग्रह गरिएको थियो । कागोशिमाको अर्को शहर ऐरामा पहिरो खसेपछि भत्किएको घरबाट दुई जनालाई उद्धार गरिएको स्थानीय दमकल विभागका एक अधिकारीले एएफपीलाई जानकारी दिएका थिए ।
सोही घरकी ३० वर्षीया एक महिला पनि बेपत्ता भएको जापानी अधिकारीलाई उद्धृत गरी सञ्चारमाध्यमले जनाएका छन् ।
कागोशिमा विमानस्थलमा आन्तरिक उडान समेत रद्द गरिएको हो।




