२४ साउन, काठमाडौं । कैलाली कारागारमा शुक्रबार राति कैदीबन्दीबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ।
सोही घटनामा परी ४७ जना घाइते भएको कारागार प्रशासनले जनाएको हो । मृतकको पहिचान तत्काल खुलाइएको छैन। सम्बन्धित परिवार र स्थानीय तहसँग समन्वयको प्रयास गरे पनि सम्पर्क नभएको कारागार प्रशासनले जनाएको हो। घाइतेहरुको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहको छ।
निमित्त कारागार प्रशासक रामकुमार चौधरीले उनीहरुमध्ये ५ जना डिस्चार्ज भइसकेको र कारागारको ए, बी र महिला गरी तीन ब्लक छन्। ए र बी ब्लकका कैदीबीच झडप भएको उनको भनाइ छ । टीकापुरको कर्तव्य ज्यान सम्बिन्धी एकै मुद्दाका १८ कैदी रहेको उनले बताएका थिए । उनीहरुलाई अन्यत्रै स्थान्तरणको तयारी भएको थियो। सोही क्रममा उनीहरु एक-आपसमै झडपमा उत्रिएका हुन्।
कारागार स्रोतका अनुसार कैदी स्थान्तरण गर्दा उनीहरुभित्रै नाईकेर-भाइनाईके को बन्ने भन्ने विषयामा विवाद भएपछि झडपको अवस्था बनेको हो। घटनाको बारेमा थप अनुसन्धान भइरहेको उनले बताएका छन् । यसअघि बिहीबार पनि कैदी स्थान्तरणको विषयलाई लिएर विवाद हुँदा ५ जना घाइते भएका थिए।





