२४ साउन, काठमाडौं। कैलाली कारागारमा शुक्रबार राति भएको झडपको विषयमा छानबिन समिति गठन गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयमा शनिबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिमा नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक राजकुमार सिंह र सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक जनकराज पन्त सदस्य रहेका छन् ।
त्यस्तै, अनुसन्धान अधिकृत दीपेन्द्र सिंह र जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशी पनि सदस्य रहेको छानबिन समितिलाई १० दिनको समय दिइएको छ । उपयुक्त विधि अपनाएर कारागारमा घटना कसरी भएको हो भन्ने बारेमा आवश्यक छानबिन गरी प्रतिवेदन पेश गर्न समितिलाई निर्देशन दिइएको छ ।
शुक्रबार राति कैलाली कारागारभित्र भएको झडपमा १ जनाको मृत्यु भएको थियो । सोही घटनामा परी ४७ जना घाइतेहरुको सेती प्रादेशिक अस्पतालमा उपचार भएको छ । घाइतेको अवस्था गम्भीर रहेको छ ।
एक जनाको आइसीयुमा उपचार भइरहेको कारागार प्रशासनले जनाएको हो ।





