२४ साउन, बागलुङ । शुक्रबार साँझदेखि अवरुद्ध राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको कालीगण्डकी कोरिडोरमा यातायात सञ्चालनमा आएको छ ।
बागलुङ नगरपालिका–१२ कालाखोलामा सडकमाथिबाट पहिरो खस्दा शुक्रबार साँझ ७ बजेदेखि पूर्णरुपमा अवरुद्ध करिडोर शनिबार बिहान १० बजेदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको हो । प्रहरी निरीक्षक केशव थापाले कोरिडोर अवरुद्ध हुँदा सदरमुकामसँग दक्षिण बागलुङको यातायात बिच्छेद भएको बताएका थिए।
सडक सञ्चालनमा आएपछि मुस्ताङ जाने पर्यटक गाडी, बागलुङदेखि बुटवल, भैरहवा र सुनौली लगायतका स्थानमा जाने सवारी साधान पनि गन्तव्यतर्फ लगेको उनको भनाइ छ ।
उनले भनेका छन्,-‘शुक्रबार रातिनै सडक खुलाउने प्रयास गरेका थियौं, तर भारी वर्षा भइरहेको र पहिरो पनि खसिरहेको हुँदा खुलाउन सकएन । शनिबार बिहानैदेखि मेसिन लगाएर सडक खुलेको छ । सडक खुलेपछि अलपत्र सवारी र यात्रु गन्तव्यतर्फ लागेका छन् ।’





