२४ साउन, बाजुरा । बुढीनन्दा मन्दिरको दर्शन गरेर घर फर्किने क्रममा सम्पर्कविहीन भएका एक जना दर्शनार्थी भेडीगोठमा भेटिएका छन् ।
बडीमालिका नगरपालिका–९ उखाडी घर भएका ५५ वर्षीय खिमराज उपाध्याय पाटनको भेडीगोठमा भेटिएका हुन् । मन्दिरमा दर्शन गरी फर्कने क्रममा हराएका उनलाई इलाका प्रहरी कार्यालय कोल्टीबाट खटिएको टोलीले लेकका गोठमा हिँड्दै गरेको अवस्थामा भेटेर ल्याएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक इकवाल हवारीले शुक्रबार साँझ साढे ५ बजे बुढीनन्दाबाट फर्किएर चुडेपानी बर डाँडामा आएको बताएका छन् । त्यहाँबाट फेरि बुढीनन्दातर्फ फर्किएकाले उनको खोजी लागि प्रहरी परिचालन गरिएको थियो ।





