अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट ४ जना अन्तरिक्ष यात्री पृथ्वीमा फर्कँदै

२४ साउन, एजेन्सी । ५ महिना लामो अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) बसाइपछि नासाको क्रु–१० अन्तरिक्ष मिशनमा सहभागी ४ जना अन्तरिक्ष यात्री शुक्रबारदेखि पृथ्वीमा फर्कने यात्रामा निस्किएका छन् ।

उनीहरू सवार अन्तरिक्ष यान शुक्रबार साँझ सवाँ ६ बजे (पूर्वी समय अनुसार) आईएसएसको हार्मोनी मोड्युलबाट सफलतापूर्वक अलग भएको हो । सोही यान शनिबार बिहान साढे ११ बजे अमेरिकाको क्यालिफोर्नियाको समुद्री तट नजिक अवतरण हुने तालिका रहेको नासाले जनाएको छ ।

यस मिसनमा नासाका दुई महिला अन्तरिक्ष यात्री एनी म्याकक्लेन, निकोल एयर्स, जापान अन्तरिक्ष अनुसन्धान संस्था (जाक्सा) का टाकुया ओनिशी र रुसका अन्तरिक्ष यात्री किरिल पेस्कोभ सहभागी छन् । स्पेसएक्सको सहकार्यमा सञ्चालित यो मिसन नासाको व्यावसायिक अन्तरिक्ष यात्री आदानप्रदान कार्यक्रमको १० औं औपचारिक उडान हो ।

जस अन्तर्गत विभिन्न अन्तर्राष्ट्रिय अन्तरिक्ष यात्रीहरूलाई अन्तरिक्ष स्टेशनमा पठाइने गरिएको छ ।