२४ साउन, जनकपुरधाम । लम्पीस्किन रोगको संक्रमणबाट मधेश प्रदेशमा १ हजार ७ सय पशुचौपाया मरेका छन् ।
प्रदेश सरकार, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले लम्पीस्किनबाट ५२ हजार ६ सय ८६ पशु संक्रमित भएको र त्यसमध्ये २३ हजार ७ सय ९ वटा पशु उपचारबाट निको भएको जनाएको हो । लम्पीस्किन रोग लाग्दा पशुलाई शुरुमा ज्वरो आउने, शरीरमा घाउखटिरा आउने तथा घाँस र पानी खान नखोज्ने लक्षण देखिन्छन् ।
रोगको पहिचान भएका पशुमा खोप लगाउने अभियान पनि शुरु गरिएको मन्त्रालयले जनाएको छ । अभियान अन्तर्गत हालसम्म प्रदेशैभरीका २ लाख ४५ हजार पशुलाई खोप लगाइएको छ । मन्त्रालयका अनुसार २ लाख ३१ हजार ५ सय १५ पशुलाई विज्ञकेन्द्रमार्फत खोप दिइएको छ ।
स्थानीय तहमार्फत धनुषामा ५ सय ६६, सर्लाहीमा १ सय ७५ र रौतहटमा ३ हजार ७ सय वटा पशुलाई खोप लगाइएको मन्त्रालयले जनाएको हो ।





