अन्तर्राष्ट्रिय

इजरायली सेनाले गाजामा आक्रमण गर्दा १० जनाको मृत्यु, ३० घाइते

२४ साउन, एजेन्सी । इजरायली सेनाले गाजामा शनिबार आक्रमण गर्दा सहायताको लागि पर्खिरहेका नागरिकसहित १० जनाको मृत्यु भएको छ ।

सोही आक्रमणमा परी ३० जना घाइते भएको गाजाको नागरिक सुरक्षा एजेन्सीले जनाएको हो । इजरायली सेनाले मध्य गाजाको सहायता केन्द्र नजिकै भेला भएका सर्वसाधारणलाई लक्षित गरेर आक्रमण गरेको थियो । अमेरिका र इजरायल समर्थित गाजा ह्युमेनिटेरियन फाउन्डेसनद्वारा सञ्चालित खाना वितरण केन्द्रहरूसहितका खाना वितरण केन्द्रहरूमा दैनिक हजारौं गाजनहरू सहयताको लागि भेला हुने गरेको जनाइएको छ ।

पछिल्लो समयमा इजरायली सेनाले सहायताको लागि पर्खिरहेका मानिसहरूलाई लक्षित गरी दैनिक आक्रमण गर्दा उनीहरुले ज्यान गुमाइ रहेका छन् । युद्ध शुरु भएदेखि गाजामा आपूर्तिको प्रवेशमा इजरायली प्रतिबन्धले खाद्यान्न, औषधि र इन्धन लगायतका आवश्यक आपूर्तिको अभाव निम्त्याएको छ ।

शुक्रबार इजरायली सुरक्षा परिषद्ले गाजा सहर कब्जा गर्ने प्रधानमन्त्री नेतान्याहुको योजनालाई अनुमोदन गरेको थियो । यसले विश्वभरी आक्रोशको लहर निम्त्याएपछि सामाजिक सञ्जालमा एक पोस्ट गर्दै नेतान्याहूले इजरायलले गाजालाई कब्जा गर्न नभई गाजालाई हमासबाट मुक्त गर्न खोजेको दावी गरेका थिए ।

इजरायलले यस क्षेत्रका २० लाख भन्दा बढी मानिसलाई अनिकालबाट फिर्ता ल्याउन र प्यालेस्टिनी उग्रवादीहरूले बन्धक बनाएका मानिसहरूलाई मुक्त गरी युद्धविराम सुनिश्चित गर्न बढ्दो दवावको सामना गरिरहेको छ ।