२५ साउन, एजेन्सी । इजरायली सेनाले शनिबार गाजामा आक्रमण गर्दा ३७ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमध्ये सहायता लिन पर्खिरहेका ३० जना नागरिक समावेश गरिएको गाजाको नागरिक सुरक्षा एजेन्सीले जनाएको हो ।नागरिक सुरक्षा प्रवक्ता महमुद बासलले इजरायली सेनाले उत्तरी गाजामा सहायता वितरणका लागि प्रयोग गरिएको सीमा नाका नजिकै भेला भएका मानिसहरूमाथि गोली चलाउँदा १२ जनाको मृत्यु भएको र करिब २ सय जना घाइते भएको जानकारी गराएका छन् ।
मध्य गाजाको सहायता केन्द्र नजिकै भेला भएका सर्वसाधारणलाई इजरायली सेनाले निशाना बनाएपछि थप ६ जनाको मृत्यु भएको हो ३० जना घाइते भएको पनि उनले जानकारी दिएका छन् । बासलका अनुसार मध्य गाजामा पनि आक्रमणका कारण धेरै जनाको ज्यान गएको छ । दक्षिणी सहर खान युनिस नजिकै भएको ड्रोन आक्रमणमा ३ जनाको मृत्यु भएको हो । अन्य धेरै जना घाइते भएका छन् ।
गाजामा मिडियामाथिको प्रतिबन्ध र क्षेत्रका ठूला भागहरूमा पहुँच पुर्याउन कठिनाइका कारण एएफपीले नागरिक सुरक्षा र इजरायली सेनाले प्रदान गरेका तथ्याङ्क र विवरणहरूको स्वतन्त्र पुष्टि गर्न सक्दैन । हजारौं प्यालेस्टिनी गाजामा खाना वितरण केन्द्रहरू नजिकै दैनिक भेला हुन्छन् ।
जसमा चारवटा अमेरिका र इजरायल समर्थित गाजा ह्युमेनिटेरियन फाउन्डेसनद्वारा व्यवस्थापन गरिन्छ ।




