समाचार

नेपाली सेनाद्वारा निःशुल्क रूपमा ६ हजार बढीको स्वास्थ्य उपचार

२५ साउन, काठमाडौं । नेपाली सेनाले विभिन्न स्थानहरुमा स्थापना गरेको स्वास्थ्य तथा सहायता शिविरबाट करिब ६ हजार २ सय ३३ जना भक्तजनहरुको निः शुल्क रुपम स्वास्थ्य उपचार गरेका छ ।

सेनाले जनै पूर्णिमाको मेलालाई लक्षित गरेर स्वास्थ्य उपचार कार्यक्रम संचालन गरेको हो । बाजुरामा रहेको ईश्वरीबक्स गुल्मबाट बडीमालिका मन्दिर जाने दुई स्थानमा डाक्टर अधिकृतसहितको टोलीले ८ सय ५८, बागलुङ ढोरपाटनस्थित दुर्गा भञ्जन गुल्मबाट ढोरबराह क्षेत्रमा ४ सय १७, ओखलढुङ्गा जिल्लास्थित दुर्गाबक्स गणबाट सोलु दुधकुण्डमा ३ सय ५६, लमजुङ जिल्लास्थित चण्डी प्रसाद गणबाट दुधपोखरीमा १ सय ३०, रसुवा जिल्लास्थित श्रीनाथ गणबाट गोसाईंकुण्ड जाने विभिन्न ८ स्थानमा डाक्टर अधिकृतसहितको टोलीले ४ हजार १ सय ९० र भक्तपुर जिल्लास्थित रणशेर गणबाट डोलेश्वर महादेव मन्दिरमा २ सय ८२ जनाको प्राथमिक उपचार एवं सामान्य स्वास्थ्य परीक्षण गरेका छन् ।

त्यसैगरी, जटिल स्वास्थ्य समस्या भएका तिर्थालुहरु दुधकुण्डबाट ४, गोसाईंकुण्डबाट ६ र बडीमालिकाबाट ७ जनालाई स्ट्रेचरमार्फत उद्धार गर्नुका साथै शरीरमा अक्सिजनको कमी भई गम्भीर बिरामी भएका ५ जनालाई ७ सिलिन्डर अक्सिजन प्रदान गरिएको थियो ।

साथै, बडिमालिका मन्दिरबाट त्रिवेणी पाटन जाने क्रममा साउन २२-२३ गते त्रिवेणी नगरपालिका-६, विष्णुपानीको भीरबाट लडेका वर्ष ५२ र ७५ का पुरुषको शव श्रावण २३ गते भीरबाट निकाली पोस्टमार्टम तथा परिवारलाई हस्तान्तरण गर्ने कार्यको लागि आइतबार सेनाको हेलिकोप्टरमार्फत सुर्खेत पुर्‍याइएको छ ।