२६ साउन, धनुषाधाम । खडेरीको प्रभावमा परेका मधेश प्रदेशका ८ जिल्लामा हालसम्म करिब ७७ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ।
कृषि विकास निर्देशनालयका निर्देशक जितेन्द्र यादवले सबै भन्दा बढी रोपाइँ बारामा ९५ प्रतिशत भएको हो । सबै भन्दा कम महोत्तरीमा ६१ दशमलव ५ प्रतिशत रोपाइँ भएको छ । प्रदेशको कूल ५ लाख ४२ हजार ५ सय ८१ हेक्टर खेती योग्य क्षेत्रमध्ये ३ लाख ७२ हजार ६ सय ४५ हेक्टरमा धान रोपाइँ हुने गरेकामा हालसम्म २ लाख ८५ हजार ३ सय ३५ हेक्टरमा रोपाइँ भएको हो ।
पर्याप्त वर्षा नभए पनि बोरिङको माध्यमबाट रोपाइँको क्षेत्रफल वृद्धि भएको उनको भनाइ छ। बारा र पर्सामा गण्डक नहर, सप्तरीमा कोशी, सर्लाही र रौतहटमा बागमतीबाट किसानले सिँचाइ गरेर धान रोप्दा केही सहजता भएको छ । तर, धनुषामा कमला नदी सुक्दा समस्या भएको हो।
यस वर्ष प्रदेशमा अधिकतम ८० प्रतिशतसम्म रोपाइँ हुने अनुमान गरिएको छ। ढिलो रोपाइँ भएको कारण कुल धान उत्पादनमा करिब २७ प्रतिशत उत्पादन घट्ने अनुमान गरिएको निर्देशक यादवले बताएका थिए। सुक्खा र खडेरी प्रभावित क्षेत्रका लागि भूमिगत सिँचाइ व्यवस्थापन सहयोग कार्यक्रम अन्तर्गत प्रदेश सरकारले किसानलाई तत्काल राहत दिने घोषणा गरेपछि प्रदेशैभरी २२ हजार ५२ किसानले आवेदन दिएका छन्।
सिँचाइ व्यवस्थापन सहयोगका लागि मधेश प्रदेश सरकार संद्दीय सरकारको निर्णयको पर्खाइमा रहेको मुख्यमन्त्री सतिशकुमार सिंहले बताएका हुन्। प्रदेश सरकारले किसानलाई सोही सहयोगका लागि १८ करोड बजेट विनियोजन गरे पनि पर्याप्त नभएको उनले बताएका छन्।





