प्रदेश 2

पर्सा अदालतमा १ हजार मुद्दा फछ्र्यौट गर्ने न्यायाधीश घिमिरे सम्मानित

२६ साउन, पर्सा । पर्सा जिल्ला अदालतले गत आर्थिक वर्ष २०८१/ ०८२ मा ७ हजार २ सय ४४ वटा मुद्दा फछ्र्यौट गरेको छ ।

अदालतले गत आवमा अघिल्लो आवको जिम्मेवारी सरेका र नयाँ दर्ता भएकामध्ये कूल १२ हजार ६ सय ३५ मुद्दामध्ये ५७ दशमलव ३३ प्रतिशत मुद्दा फछ्र्यौट गरेको हो । न्यायाधीश दीपक खनालले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा पर्सा अदालतको मुद्दा फछ्र्यौटको प्रतिशतमा वृद्धि भएको जानकारी दिएका छन् ।

सोही अदालतले अघिल्लो आवमा भने ५७ प्रतिशत मुद्दा फछ्र्यौट गरेको थियो । गत आर्थिक वर्षमा भएको मुद्दाको फछ्र्यौट प्रगति उन्मुख देखिएको उनको भनाइ छ । मुद्दा फछ्र्यौटमा अदालतको मात्रै एकल भूमिका नभएर अन्य सरोकारवाला निकायको पनि भूमिका महत्वपूर्ण हुने उनले जानकारी दिएका थिए ।

अघिल्लो आवबाट जिम्मेवारी सरेका ६ हजार ९२ र गत आवमा नयाँ दर्ता भएका मुद्दा सङ्ख्या भने ६ हजार ५ सय ४३ रहेको छ । त्यस्तै, अदालतमा १८ महिना नाघेका मुद्दाको सङ्ख्या ३ सय ६७ र २ वर्ष नाघेका मुद्दाको सङ्ख्या भने ३ सय ३४ रहेका छन् । न्यायाधीश नन्दकिशोरप्रसाद यादवले अदालतले पनि न्यायापालिकाको पञ्चवर्षीय रणनीतिक योजना अनुसार नै काम गर्दै आइरहेको जानकारी दिए ।

‘‘चालु आर्थिक वर्षमा गत आर्थिक वर्षबाट सरेर आएका र नयाँ दर्ता हुने गरी करिब १३ हजार ४ सय ६८ मुद्दा दर्ता हुने लक्ष्य राखेको उनको भनाइ छ । चालु आवमा लक्ष्यको ६६ प्रतिशत अर्थात ८ हजार ८ सय ३७ वटा मुद्दा फछ्र्यौट गर्ने लक्ष्य निर्धारण गरेका न्यायाधीश यादवले बताएका हुन् ।

अदालतका श्रेस्तेदार प्रभाकरकुमार मल्लिकले वार्षिक कार्ययोजना अनुसार नै लक्ष्य राखेर मुद्दाको फछ्र्यौट गर्ने योजना रहेको जानकारी दिएका छन् । अदालतमा ११ न्यायाधीश कार्यरत रहेएका उनको भनाइ थियो। अदालतमा कार्यरत रहेका ती न्यायाधीसमध्ये न्यायाधीश माधवप्रसाद घिमिरेले गत आवभरिमा ९ सय ८३ मुद्दा फछ्र्यौट गर्न सफल भएका छन् ।

न्यायाधीश घिमिरेलाई आइतबार एक कार्यक्रमबीच दोसल्ला ओढाएर सम्मान गरिएको श्रेस्तेदार मल्लिकले बताएका हुन् ।