२६ साउन, काठमाडौं । रोजगारीका सिलसिलामा भारत पुगेका बाजुराका एक दम्पतीको बाढी-पहिरोमा परी मृत्यु भएको छ ।
भारतको उत्तराखण्डमा यहि साउन २० गते गएको विनाशकारी बाढी- पहिरोले बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–२ का २३ वर्षीय रमेश बुढा र उनकी २१ वर्षीया पत्नी प्रिया बुढाको मृत्यु भएको हो ।
उत्तराखण्डको उत्तरकाशी जिल्लाको धराली गाउँमा आएको आकस्मिक बाढीपहिरोले उनीहरूको जीवन अकालमा अन्त्य गरिदिएको हो । रोजगारीका लागि छिमेकी मुलुक पुगेका रमेश र प्रिया दुवै जना प्राकृतिक प्रकोपको चपेटामा परेर सदाका लागि संसारबाट बिदा भएका हुन् ।
सोही घटनामा स्वामीकार्तिक खापर गाउँपालिकाका २४ जना समेत घाइते भएका छन् । घाइते हुनेमा स्वामीकार्तिक खापर–१ का प्रकाश बुढा, पछना बुढा, धन बुढा, महेन्द्र महतारा, जयन्द्र बुढा, वडा नम्बर २ का पसे बुढा, दिनेश बुढा, मानबहादुर बुढा, रजबहादुर महतारा , जनेश बुढा, पछी महतारा, वीर बुढा र वर्षनी बुढा रहेका छन् ।
त्यस्तै, ७ महिनाकी बालिका अपसरा बुढा, बादल बुढा, मादप महतारा, विपना बुढा, दिपेन्द्र महतारा, मानबहादुर बुढा, विष्णा बुढा, पल्लव महतारा, रुप्सा बुढा, पुष्पराज बुढा र रुप्स बुढा रहेका हुन् । गाउँपालिकाले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।
सुदूरपश्चिमका नागरिकहरू छोराछोरीको पालनपोषण र घरखर्चका लागि रोजगारीका सिलसिलामा भारतसहित अन्य मुलुक पुग्ने गरेका छन् । तर, वर्षेनी यस्ता दुर्घटनामा परी कैयौं नेपाली मृत्यु र घाइते हुने घटनाहरू दोहोरिंदै आएका छन् ।





