८ भदौ, वीरगंज । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सीमा क्षेत्रमा बस्ने नेपालीहरूले अब ज्ञानमा आधारित अर्थतन्त्रतर्फ सोच्नुपर्ने भइसकेको बताएका छन् । ज्ञान अर्थतन्त्रको सबैभन्दा ठूलो स्रोत जनशक्ति भएपनि त्यसमा राज्यको ध्यान पुग्न नसकेको उनको भनाई छ।
प्रदीप गिरि इन्स्टिच्युटले शनिबार वीरगंजमा आयोजना गरेको कार्यक्रम अन्तर्गत नेपाल, भारत र सीमाञ्चलः युवा, संस्कृति र पहिचानको राजनीति शीर्षकको सत्रमा आफ्नो भनाई राख्दै महामन्त्री थापाले भने, ‘भारतले सूचना–प्रविधिको क्षेत्रमा राम्रो गरेको छ। सही स्टेप लिएर अघि बढ्यौं भने त्योसँगै जोडिएर दुवैले लाभ लिनसक्ने साझा कुराहरू धेरै छन्।’ सीमा क्षेत्रका नेपाली युवाहरू सूचना–प्रविधिमा दक्ष भए भारतीय बजारमा आफू र आफ्नो व्यवसायलाई विस्तार गर्न धेरै कठिनाइ नरहेको उनको भनाई थियो। तर त्यसका लागि आधार तयार पार्न ढिलाइ भइसकेको महामन्त्री थापाले बताए।
शिक्षा र पोषणको समस्याले तराई मधेशमा प्रतिस्पर्धी दक्ष जनशक्ति उत्पादनमा बाधा उत्पन्न भएको उनको भनाई छ। विगतमा देशलाई नै गणित र विज्ञान सिकाउने मधेश अहिले कमजोर बनेकोमा चिन्ता व्यक्त गर्दै महामन्त्री थापाले स्थानीय सरकारहरूलाई पोषण र शिक्षामा ध्यान पुर्याउन भने। महामन्त्री थापाले भजे, ‘मधेशका स्थानीय सरकारहरूलाई मेरो आग्रह छ। तपाइँहरू बाटो बनाएँ, अरू पूर्वाधार बनाएँ भनेर भन्नुभन्दा बरू यहाँका सार्वजनिक विद्यालयमा गणित र विज्ञानको स्तर यहाँसम्म पुर्याएँ भन्नसक्ने हुनुस्। बच्चा पढ्न पायो कि पाएन र त्यसअघि राम्रो पोषण पायो वा पाएन त्यो सोच्नुस्।’
कानुनी वा दुईदेशीय सम्बन्धभन्दा अलग विशेषतायुक्त सीमाञ्चलको सम्बन्धबाट नेपाल र भारत दुबैले लाभ लिनेगरी अघि बढ्नुपर्ने महामन्त्री थापाको भनाई छ। सीमाञ्चलमा अझैं सहजतापूर्वक व्यापार–व्यवसाय, आउजाउ हुन सकोस् भन्नका खातिर आ–आफ्ना सुरक्षा चासोहरूको सम्बोधन गर्दै सम्बन्ध विस्तारका अझ राम्रा उपायहरू खोज्न दुवै देशबीच उदार छलफल हुनुपर्ने भनाई पनि उनले राखे।
दुवैदेशको समृद्धि र सुमधुर सम्बन्धका लागि आफूले पनि एउटा वृहत्त सीमाञ्चल सम्मेलनको आवश्यकता महसुस गरेको बताउँदै महामन्त्री थापाले प्रदीप गिरि इन्स्टिच्युटले त्यसको पहलकदमी लेओस् भन्ने चाहना राखे। त्यसका लागि आफू र आफ्नो पार्टीको सक्रिय सहभागिता रहने पनि उनको प्रतिबद्धता थियो।
त्यसैगरी भारतीय लोकसभाका सांसद तथा जनता दल युनाइटेडका नेता सुधाकर सिंहले सीमाञ्चलका अधिकांश मुद्दाहरु साझा रहेको बताउँदै दुवै देश मिलेर वारीपारीका जनताको हितमा काम गर्नुपर्ने बताए। वहाँले नेपाल र भारत दुवैका लागि पानी बरदान साबित हुने पनि बताए। तर त्यसको सही आपसी सदुपयोगमा भने दुवै देशले राम्रो समझदारी कायम गर्नुपर्नेउनको भनाइ थियो।
जलवायु परिवर्तको असरबाट सीमाञ्चल वारीपारी दुवैतर्फका मानिसहरू प्रभावित भएको भन्दै यसमा एक–अर्काको दोष देखाउनुभन्दा दुवैलाई लाभ हुनेगरी अघि बढ्नु बुद्धिमानी हुने सिंहले बताए।
त्यस्तै नेपालले आइटी र मेडिकल क्षेत्रमार्फत आफ्नो अर्थतन्त्रमा राम्रो प्रगति गर्नसक्ने पनि बताए। भारतीय विद्यार्थीहरू अन्य देशको तुलनामा नेपालमा निकै सस्तोमा मेडिकल शिक्षा लिन पाइरहेको र यसबाट दुबै देशलाई फाइदा भइरहेको बताएका सिंहले आउँदा दिनहरूमा नेपालको सुधारिएको नीतिले अझै राम्रो हुने अपेक्षा व्यक्त गरे।
आफू प्रदीप गिरिले देखाएको मार्गमा हिड्न सधैं तत्पर रहेको बताएका सिंहले वनको सीमाञ्चल सम्मेलनको इच्छा पूरा गर्न हमेशा तयार रहेको पनि जानकारी दिए।
कार्यक्रममा तीनवटा सत्रहरूमा प्रदीप गिरिमाथि चर्चा गरिएको थियो। पहिलो सत्रमा प्रदीप गिरिबारे नागरिक समाजका अगुवाहरूले आफ्ना अनुभव र बुझाइहरू राखेका थिए । राजनीतिशास्त्री हरि शर्मा, पत्रकार चन्द्रकिशोर, अध्येता भाष्कर गौतम, विश्लेषक सुचेता प्याकुरेलले पहिलो सत्रका वक्ता थिए।
दोस्रो सत्रमा वनका समकक्षी भारतीय कांग्रेसका नेता मोहन प्रकाश, नेकपा माओवादी केन्द्रका नेता राम कार्की, अध्येता कैलाश राईले प्रदीप गिरिका सामाजिक, राजनीतिक जीवनबारे चर्चा गरेका थिए ।
त्यस्तै उद्घाटन समारोहमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अनिल रूंगटा, बरिष्ठ अधिवक्ता सुधिर कर्ण, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, प्रदीप गिरिका सहोदर भाई शेखर गिरि लगायतले पनि प्रदीप गिरिसँग सम्बन्धित अनुभवहरू साझा गरेका थिए ।
चिन्तक प्रदीप गिरिका दर्शन, दृष्टिकोण, विचारहरूको संरक्षण र प्रबर्द्धन गर्ने उद्देश्यसहित भदौ ३ गते गठन भएको प्रदीप गिरि इन्स्टिच्युटले यसै कार्यक्रममार्फत सीमाञ्चल सम्मेलन गर्ने सोंच पनि अघि सारेको संस्थाका संस्थापक अध्यक्ष कञ्चन झाले जानकारी दिए।





