भड्किलो भन्दा संस्कारसँग नजिक भएर मनाऔं
तेजन खड्का/१० भदौ, काठमाडौं । नेपाली चलचित्रकी चर्चित नायिका रेखा थापाले हरितालिका तीजलाई नारीहरूको सौभाग्य र समृद्धिका लागि मात्र नभई नारी शक्तिको उत्सवका रूपमा लिनुपर्ने बताएकी छन् ।
उनका अनुसार धार्मिक दृष्टिले महत्वपूर्ण मानिने यो पर्वलाई अझ व्यापक अर्थमा बुझ्न आवश्यक छ। “तीजलाई म नारी दिवस वा नारी सम्मेलनकै रूपमा पनि हेर्छु, जहाँ दिदीबहिनीहरू एउटै ठाउँमा भेला भएर नाचगानमार्फत मनभित्रको पीडा र नकारात्मकतालाई जरैबाट उखेल्ने अवसर पाउँछन्,” थापाले भनिन्।
तीजको मौलिक मूल्य, संस्कृति र संस्कारको संरक्षणमा जोड दिँदै उनले भड्किलो खर्चभन्दा यसको सकारात्मक पक्षसँग नजिक भएर भव्य तर सादगीपूर्ण ढंगले मनाउन सबैलाई आग्रह गरेकी छन्। विदेशमा रहेका नेपाली महिलालाई समेत लक्षित गर्दै उहाँले हरितालिका तीजको शुभकामना दिइन्।
थापाले ‘हिरो’ चलचित्रमार्फत नेपाली फिल्म क्षेत्रमा डेब्यु गर्नुभयो। पहिलो चलचित्रबाटै दर्शकमाझ पहिचान बनाउन सफल थापा त्यसयता ‘कसले चोर्यो मेरो मन’, ‘हिफाजत’, ‘काली’, ‘हिम्मतवाली’लगायत दर्जनौँ हिट चलचित्रमा अभिनय गर्दै नेपाली सिनेमाको लोकप्रिय अनुहार बनिन्।
ग्ल्यामर र स्टारडमले चर्चामा आउनुभएकि थापा पछिल्ला वर्षमा सामाजिक अभियन्ता र राजनीतिमा समेत सक्रिय छन्। महिला अधिकार, सामाजिक न्याय र राष्ट्रिय स्वाभिमानका विषयमा मुखर अभिव्यक्ति दिने उनी नेपाली फिल्म क्षेत्रको सर्वाधिक प्रभावशाली महिला कलाकारमध्ये एक मानिन्छिन्।





