आर्थिक

सूचना, प्रविधि र सीपयुक्त रोजगारीमा लगानी बढाउनुपर्नेमा अध्यक्ष ढकालकाे जोड

२० भदौ, गण्डकी । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले सूचना प्रविधि र सीपयुक्त रोजगारीमा लगानी बढाउनुपर्नेमा जोड दिएका छन् ।

लेखनाथ उद्योग वाणिज्य सङ्घको २९औँ वार्षिक साधारणसभा एवं १५औँ महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले औद्योगिक विकासलाई अघि बढाउन नीतिगत स्पष्टता, पूर्वाधार निर्माण र सुरक्षाको प्रत्याभूति आवश्यक हुने बताए । देशमा जे चिजको सम्भावना छ त्यसको खोजी गरी आर्थिक उपार्जन तिर लाग्न व्यवसायीलाई आग्रह गर्दै उनले निजी क्षेत्रको लगानीबाट मात्रै आर्थिक गतिविधि चलायमान हुने धारणा राखे । वर्तमान परिस्थितिमा निराश हुनुपर्ने अवस्था नभएको स्पष्ट पार्दै उनले निष्ठा, इमान्दारी र सकारात्मक दृष्टिकोणले मात्र आर्थिक रूपान्तरण सम्भव भएको धारणा राखे । लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष विनोद श्रेष्ठले बन्द रहेका उद्योगलाई चलायमान गराउनुपर्ने धारणा राखे । त्यसका लागि केन्द्रीयस्तरबाट लगानीमैत्री वातावरण सृजना गरिनुपर्ने उनको भनाइ छ । युवा शक्ति विदेशिने समस्याको समाधान रोजगार सिर्जना भएको बताउँदै उनले लेखनाथलाई प्रदेशस्तरीय औद्योगिक क्षेत्र तथा स्थायी सभाहलको आवश्यकता रहेको बताए । कास्कीका जिल्ला प्रमुख अधिकारी रुद्रादेवी शर्माले आर्थिक र रोजगारी वृद्धिका लागि स्थानीय मागलाई आधार मानी आयात विस्थापित गर्ने कार्ययोजना अनुसार अगाडि बढ्न सुझाव दिए । लेखनाथ उद्योग वाणिज्य सङ्घका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले संस्थाको भौतिक संरचना र सामाजिक रुपान्तरणमा सङ्घको भूमिका स्मरण गराउँदै विसं २०७८ मा स्थापना गरेको ‘चन्द्रकृष्ण ज्येष्ठ नागरिक सेवा पुरस्कार’ पोखरा–३२ राधाकृष्ण शान्ति आश्रमका पीठाधिश मुकुन्दशरण उपाध्यायलाई प्रदान गरियो । सो पुरस्कार राशि रु एक लाख एक हजार रहेको छ । त्यसैगरी आर्थिक पत्रकार पुरस्कार पत्रकार सुरेन्द्र पौडललाई प्रदान गरियो । सो पुरस्कारको राशि रु १५ हजार ८८ रहेको छ । साथै लेखनाथ उद्योग वाणिज्य सङ्घले प्रदान गर्ने महिला उद्यमी सम्मान रुपकला श्रेष्ठलाई गरिएको छ ।