८ असोज, असोज । लक्ष्मी सन्राईज बैंक लि को अगुवाईमा सहवित्तीयकरणमा सहभागी बैंकहरु र दुधकोशी हाइड्रोपावर नेपाल प्रा.लि.बिच सो कम्पनीले सोलुखुम्बु जिल्लामा अवस्थित दुधकोशी नदीमा निर्माण गर्ने ७० मे.वा. क्षमताको अर्धजलासय दुधकोशी—२ (जलेश्वर) जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता सम्पन्न भएको छ । सो आयोजनाको कुल लागत १५ अर्ब रहेको छ । यो सहकार्यले नेपालको नविकरणीय उर्जा परिदृश्यमा महत्वपुर्ण भूमिका खेल्नेछ ।
दुधकोशी—२ (जलेश्वर) जलविद्युत आयोजनाले असोज ७, २०७७ मा विद्युत विकास विभागबाट विद्युत उत्पादनको अनुमति लिनुका साथै मंसिर ६, २०७८ मा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता समेत गरिसकेको छ । सो कम्पनीको मुख्य प्रवर्धनको रुपमा आयु मलुन हाइड्रोपावर लि., कदम केसी, किरण मल्ल, अभिज्ञा मल्ल, विक्रम गौतम, विकास गौतम, अरुण अग्रवाल, नरेन्द्र गुप्ता, डा. हिमाल भट्टराई तथा विभिन्न प्राइभेट इक्विटी भेन्चर क्यापिटल रहेका छन् ।
सो परियोजना निमार्णको लागि लक्ष्मी सन्राईज बैंकको नेतृत्वमा सहवित्तीयकरणमा सहभागी बैंकहरुले परियोजना लागतको ७० प्रतिशत लगानी गर्ने प्रतिवद्धता जनाएका छन् भने बाँकी ३० प्रतिशत रकम सो कम्पनीका संस्थापकबाट लगानी हुनेछ । सहवित्तियकरणमा एभरेष्ट बैंक सह–अगुवा बैंक र सानिमा बैंक सदस्य बैंकको रुपमा रहेका छन् भने कूल प्रोजेक्ट फाइनान्स १० अर्ब ५० करोड रहने छ ।
सो आयोजना जुलाई २०२९ भित्र निर्माण सम्पन्न भई विद्युत उत्पादन भए पश्चात वार्षिक करिब ४१७ गिगावाट आवर इनर्जी विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान हुनुको साथै देशकै ठुलो स्वतन्त्र उर्जा उत्पादकको मध्यको रुपमा रहने छ ।





