धनगढी, १५ कात्तिक – कञ्चनपुरमा शनिबार बिहान भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत कृष्णपुर नगरपालिका–२ वाणीस्थित सडक खण्डमा ना ७ ख ६१८२ नम्बरको बस दुर्घटनामा परेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
दुर्घटनामा कृष्णपुर नगरपालिका–२ बण्डका ४२ वर्षीय बलबहादुर बोहराको मृत्यु भएको पुष्टि भएको छ। प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराका अनुसार घाइते अवस्थामा उद्धार गरिएका बोहराको उपचारका क्रममा वाणी अस्पतालमा मृत्यु भएको हो।
बसमा पाँच जना सवार रहेका थिए। दुर्घटनापछि फरार भएका चालक वेदकोट नगरपालिका–३ दैजीका ४६ वर्षीय रमेश बोहरालाई प्रहरीले पक्राउ गरेको जनाएको छ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





