२४ कात्तिक, काठमाडौं। नेपाली कांग्रेसले मधेश प्रदेशमा एमाले संसदीय दलका नेता सरोज कुमार यादवलाई मुख्यमन्त्री नियुक्त गर्नु ‘निन्दनीय’ भएको जनाएको छ। कांग्रेसले यस घटनाले नागरिकमा संघीयताप्रति वितृष्णा बढाउने आशंका व्यक्त गरेको छ।
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमार्फत मधेश प्रदेशमा भएको अराजनीतिक कदम दु:खद रहेको बताए। उनका अनुसार संविधानको धारा १६८(२) अन्तर्गत सरकार बन्ने संभावना छँदै, धारा १६८(३) अनुसार नयाँ सरकार गठन हुनु ‘प्रहसन’को स्वरूप भएको छ र यसलाई न्यायालयले सच्याउने अपेक्षा गरिएको छ।
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आज बिहान महोत्तरीको बर्दिबासस्थित पानस होटलमा एमाले नेता यादवलाई मुख्यमन्त्री पदको शपथ गराएकी थिइन्। भण्डारी अस्वस्थता देखाउँदै काठमाडौं जान लागेको बताए पनि शपथ कार्यक्रम सम्पन्न भएको थियो।





