अन्तर्राष्ट्रिय

साउदी अरबमा भारतीय यात्रु बोकेको बस दुर्घटना, ४२ जनाको मृत्यु

१ मंसिर, काठमाडौं ।  साउदी अरबमा मक्काबाट मदिना जाँदै गरेको एक तीर्थयात्री बस दुर्घटना हुँदा ४२ जना भारतीय नागरिकले ज्यान गुमाएका छन्। सोमबार राति भारतीय समय अनुसार करिब १:३० बजे मुहरास नजिकै बस डिजेल ट्याङ्करसँग ठोक्किँदा आगलागी भएर ठूलो मानवीय क्षति भएको हो। दुर्घटना स्थल मदिनाबाट करिब १६० किलोमिटर टाढा पर्छ।

मृतकमध्ये २० महिला र ११ बालबालिका छन्। बसमा सवार अधिकांश हैदराबादका तीर्थयात्रीहरू रहेको बताइएको छ। दुर्घटना हुँदा धेरै यात्रुहरू बसमै सुतिरहेका कारण आगो फैलिएपछि भाग्न नपाई ज्यान गएको प्रारम्भिक अनुमान छ।

तेलंगाना सरकारले रियादस्थित भारतीय दूतावाससँग लगातार सम्पर्कमा रहेको जनाएको छ। मुख्यमन्त्री रेवन्त रेड्डीले दिल्लीस्थित अधिकारीहरूलाई दूतावाससँग समन्वय गर्दै मृतकहरूको पहिचान, उद्धार तथा आवश्यक कागजी प्रक्रिया छिटो पूरा गर्न निर्देशन दिएका छन्।