५ मंसिर, हेटौंडा । हेटौंडा उपमहानगर क्षेत्रअन्तर्गत पर्ने महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको सडक क्षेत्रमा बनेका अवैध संरचना हटाउन सरकार पुनः सक्रिय बनेको छ । सडक डिभिजन कार्यालय हेटौंडाले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै केन्द्र रेखादेखि २५–२५ गज (७५–७५ फिट) भित्र पर्ने घरटहरा, व्यवसायिक संरचना तथा अन्य स्थायी–अस्थायी निर्माण १५ दिनभित्र अनिवार्य रूपमा हटाउन निर्देशन दिएको छ।
सूचनाअनुसार रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म, र बुद्धचोकदेखि सामरी पुलसम्मका सडक क्षेत्रमा परेका सबै संरचना स्वयंले हटाउनु पर्नेछ ।
यसअघि पनि सडक डिभिजनले सडक सीमा खाली गराउन सूचना जारी गरे पनि घरधनीहरूले सर्वोच्च अदालतमा मुद्दा हालेर प्रक्रिया रोक्दै आएका थिए । उद्योग वाणिज्य संघको नेतृत्वमा निरन्तर विरोध हुँदै आएको यस विषयमा अदालतले २०७८ पुस १९ लगायत विभिन्न निर्णयमार्फत सडक क्षेत्रमा क्षतिपूर्ति नपाइने र अवैध संरचना हटाउन बाधा नपुर्याउने आदेश दिएको सूचनामा उल्लेख छ।
२०८० असार महिनामा जारी सूचनाविरुद्ध परेका रिट–निवेदनहरू समेत सर्वोच्चले खारेज गरिसकेकाले फेरि १५ दिने अन्तिम अल्टिमेटम जारी गरिएको सडक डिभिजनले जनाएको छ ।
सडक क्षेत्र खाली गराउने क्रममा २०७६ मा राप्ती रोडमा स्थानीय र सुरक्षाकर्मीबीच झडप समेत भएको थियो । लामो समयदेखि रोकिएको सडक विस्तार अब अदालतको आदेश अनुसार अघि बढाइने डिभिजन कार्यालयले स्पष्ट पारेको छ।






