समाचार

सरकार र महाअभियानबीच दोस्रो चरणको वार्ता सम्पन्न, १० बुँदामा सहमति

६ मंसिर, काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल र नेपाल सरकारबीच दोस्रो चरणको वार्ता शुक्रबार दिउँसो प्रधानमन्त्री कार्यालय, बालुवाटारमा सम्पन्न भएको छ। प्रधानमन्त्री शुशिला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार तथा महाअभियानका प्रतिनिधिबीच साँझ ७ देखि राति ११ बजेसम्म वार्ता चलेको थियो।

यसअघि कात्तिक २६ गते पहिलो चरणको वार्ता सम्पन्न भएको थियो। महाअभियानले सरकारसमक्ष पेस गरेको २७ बुँदे मागलाई आधार मानेर विस्तृत छलफल गरिएको छ।

वार्तामा निम्न विषयमा सहमति र प्रगति भएको महाअभियान र सरकार दुवै पक्षले जनाएको छः

१. २७ बुँदे मागबारे बुँदागत छलफल
प्रधानमन्त्री, गृहमन्त्री तथा उनीहरूको सल्लाहकार टोली र महाअभियानका प्रतिनिधिबीच २७ बुँदे मागमा विस्तृत छलफल गरिएको छ।

२. लघुवित्त–सहकारी ऋण समस्याको संयुक्त संयन्त्र
२० लाख रुपैयाँभन्दा कमको ऋण मिनाहा तथा सहकारीमा डुबेको रकम फिर्ता दिलाउने विषयमा सरकार, महाअभियान, सरोकारवाला निकाय र बचतकर्ताबीच संयुक्त संयन्त्र गठन गरी समस्या समाधानको प्रक्रिया अघि बढाउने सहमति भएको छ।

३. भूमिहीन, सुकुम्बासी र कवाड व्यवसायीको दीर्घकालीन व्यवस्था
उपत्यकासहित देशभरका भूमिहीन, सुकुम्बासी तथा कवाड व्यवसायीको दीर्घकालीन व्यवस्थापनबारे सरकार र महाअभियानबीच सहमति कायम भएको छ।

४. दुर्गा प्रसाईंसँग प्रत्यक्ष संवाद
महाअभियानका केन्द्रीय अध्यक्ष दुर्गा प्रसाईंसँग सरकारको तर्फबाट प्रधानमन्त्रीसहितको टोलीले प्रत्यक्ष संवाद गर्ने तथा तत्काल सम्बोधन गर्न सकिने मागहरू छिटो टुंग्याउने सहमति भएको छ। राजनीतिक प्रकृतिका मागहरू राजनीतिक प्रकृतिमै समाधान गरिनेछ।

५. कालोसूची समस्याका लागि त्रीपक्षीय संयन्त्र
बैंक, वित्तीय संस्था र सहकारीमार्फत कालोसूचीमा परेका व्यवसायीलाई कालोसूचीबाट हटाउने विषयमा नेपाल सरकार, महाअभियान र नेपाल राष्ट्र बैंकबीच त्रीपक्षीय संयन्त्र निर्माण गरी प्रक्रिया अघि बढाइनेछ।

६. जेनजी आन्दोलनमा पक्राउ परेकाको रिहाइ प्रक्रिया
जेनजी विद्रोहपछिका प्रदर्शनकारीहरूको रिहाइ प्रक्रिया सुरु गर्ने सहमति भएको छ।

७. हिन्दु अधिराज्य, संघीयता र राजसंस्थासम्बन्धी जनमतसंग्रह विषयमा आगामी वार्तामा निर्णय
हिन्दु राज्य, संघीयता र राजसंस्थासम्बन्धी जनमतसंग्रहको प्रस्तावबारे महाअभियान र सरकारबीच आगामी चरणमा विस्तृत छलफल गरी निर्णयमा पुग्ने दुवै पक्षले बताएका छन्।

८. आम हड्ताल स्थगित, जागरण कार्यक्रम सञ्चालन
महाअभियानले घोषणा गरिएका आम हड्ताल तथा नेपाल बन्दका कार्यक्रम तत्काल स्थगित गरी देशव्यापी जागरण तथा खबरदारी सभा सञ्चालन गर्ने भएको छ।

९. सर्वसाधारणका समस्यामा संवादमार्फत समाधान
भूमिहीन, मजदुर, किसान, यातायात व्यवसायी तथा यातायात मजदुरका समस्या वार्ता तथा संवादमार्फत समाधान गरिने महाअभियानको भनाइ छ।

१०. १५ दिनभित्र प्रगति नभए आन्दोलन सशक्त बनाइने
वार्तामा समेटिएका बुँदाहरू १५ दिनभित्र कार्यान्वयनतर्फ नबढे महाअभियानले आन्दोलनका कार्यक्रमलाई थप सशक्त रूपमा अघि बढाउने चेतावनी दिएको छ।