८ मंसिर, काठमाडौँ । नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिताको लाइभ आधिकारिक ओटीटी बाहेकका अन्य माध्यमबाट समेत प्रसारण भएको भन्दै नेपाल क्रिकेट सङ्घले कारबाहीको चेतावनी दिएको छ । क्यान र डिसहोमले विज्ञप्तिमार्फत एनपिएलको आधिकारिक माध्यमबाट मात्र खेल हेर्न आग्रह गर्दै ओटीटीमा अधिकार प्राप्त डिशहोम गो मा मात्र हेर्न आग्रह गरेको हो ।
विश्वभर (भारत बाहेक) एनपीएलको ओटीटी प्रसारण सम्बन्धी सम्पूर्ण अधिकार डिश मिडिया नेटवर्क लिमिटेडसँग रहेको र डिशहोमको डिशहोम गो नामक एप मार्फत पैसा तिरेर एनपीएलका खेलहरू हेर्न सकिने विज्ञप्तिमा उल्लेख छ ।
डिशहोम गो बाहेक युट्युब, फेसबुक, टिकटक, इन्स्टाग्राम, ट्विटर (एक्स), टेलिग्राम, अन्य वेबसाइट तथा एपबाट एनपीएल प्रसारण गर्नु अनधिकृत रहेको भन्दै विज्ञप्तिमा एनपीएल अन्तर्गतका सम्पूर्ण खेलसँग सम्बन्धित सामग्रीहरूको अनधिकृत बिक्री वितरण, पुनःप्रसारण, रेकर्डिङ, सम्पादन तथा अन्य कुनै पनि किसिमले प्रयोग गर्ने÷गराउने कार्य गैर कानुनी रहेको हुँदा दण्डनीय हुने चेतावनी दिएको छ ।
दुवै संस्थाले तोकिएका आधिकारिक प्लेटफर्म (डिशहोम गो लगायत) बाट मात्र एनपीएल अन्तर्गतका क्रिकेट खेल हेर्न र अनधिकृत लिङ्क, साइट तथा माध्यमहरूबाट क्रिकेट खेल हेर्न खोज्दा आफ्नो व्यक्तिगत तथा वित्तीय विवरण सार्वजनिक भई साइबर अपराधमा पर्न सक्ने चेतावनी समेत दिएको छ ।





