समाचार

१४ वर्ष अलपत्र कन्काई पुलको ठेक्का रद्द

११ मंसिर, काठमाडौं । झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१ जोड्ने करिब ७२३ मिटर लामो कन्काई पुल निर्माणकाे ठेक्का अन्ततः १४ वर्षपछि तोडिएको छ। हुलाकी राजमार्गअन्तर्गत पर्ने यो महत्वपूर्ण पुल लामो समयदेखि अलपत्र रहँदा स्थानीय आवागमन र विकासकार्य प्रभावित हुँदै आएका थिए।

हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले पप्पु महादेवखिम्ती संयुक्त उपक्रम (जेभी)सँगको ठेक्का सम्झौता अन्त्य गरिएको बिहीबार सार्वजनिक सूचना जारी गर्दै जानकारी दिएको हो।

कार्यालयले गत ३१ असोजमा ‘किन ठेक्का नतोड्ने ?’ भनेर १५ दिने स्पष्टीकरण मागेको थियो। तर, निर्माण व्यवसायीको जवाफ सन्तोषजनक नआएपछि सार्वजनिक खरिद ऐनअनुसार ठेक्का रद्द गरिएको कार्यालय प्रमुख युवराज पोखरेलले बताए।

पक्की पुललाई डिजाइन एण्ड बिल्ड मोडालिटीमा निर्माण गर्न ३१ जेठ २०६८मा सम्झौता भएको थियो। ३० जेठ २०७२ भित्र पुल तयार गर्ने लक्ष्य राखिए पनि पाँच पटक म्याद बढाउँदा पनि निर्माण भौतिक प्रगति ५६ प्रतिशतमै सीमित रह्यो। करसहित ३४ करोड ९ लाख रुपैयाँको ठेक्का रकम भएको यो परियोजनामा अब निर्माण व्यवसायीको १ करोड ७१ लाख रुपैयाँ कार्यसम्पादन जमानत समेत जफत हुनेछ।

गत असोजमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङ स्वयं झापा पुगेर कन्काई पुल निरीक्षण गरेका थिए। सो निरीक्षणपछि नै ठेक्का तोड्ने प्रक्रिया अघि बढाइएको अधिकारीहरूले बताएका छन्।

परियोजना लामो समयदेखि रोकिएपछि अब नयाँ ठेक्का प्रक्रिया अघि बढाइने जनाइएको छ।