खेलकुद

तिलिचो किनारमा ऐतिहासिक रेस्लिङ, नेपाली खेलाडीले बनाए विश्वकीर्तिमान

११ मंसिर, काठमाडौं । सन् १९८० को दशकमा अमेरिकाको लस भेगसमा लोकप्रिय भएको रेस्लिङ खेल अहिले विश्वव्यापी मनोरञ्जनको एउटा शक्तिशाली माध्यम बनेको छ। भीडभाडले भरिएका हल, चिच्याउँदै हौस्याउने दर्शक, बर्बर भिडन्त यी सबैले रेस्लिङलाई लस भेगसको पहिचानको हिस्सा बनाइदिए। आज यो खेल १५० भन्दा बढी देशमा पुगिसकेको छ, जहाँ आधा अर्बभन्दा धेरै दर्शक टेलिभिजन अगाडि बसेर रोमाञ्चक भिडन्त हेर्छन्।

नेपाल पनि यस प्रभावबाट अछुतो छैन। यहाँ विवश हेर्ने मात्र होइन, खेल्नेहरू पनि क्रियाशील छन्। यिनैमध्ये एक किर्तिमानबाज पात्र हुन्ने पालकी पहिलो महिला रेस्लर भगवती खड्का ‘युनिका’।

विश्वकीर्तिमान बनाउने उद्देश्यसहित लामो समयदेखि रेस्लिङमा सक्रिय युनिकाले फेरि एक ऐतिहासिक कदम चाल्दै संसारकै अग्लो स्थानमा रिङ बनाएर महाभिडन्त सम्पन्न गरेकी छन्। नेपाल महिला रेस्लिङ फाउन्डेसनको आयोजनामा बुधबार मनाङको नेस्याङ गाउँपालिका–९ स्थित तिलिचो तालछेउमा विशेष रिङ तयार गरी अन्तर्राष्ट्रिय स्तरको खेल आयोजना गरियो।

यस महाभिडन्तमा युनिका, अस्मिता सुनार (जुरेली) र अमेरिकी खेलाडी क्यामिल कोलेटी लिगोन (होलिडेड) बीच प्रतिस्पर्धा भयो। कठिन भू–उचाइमा गरिएको यो भिडन्तमा युनिका र जुरेली दुवैले जित सुनिश्चित गर्दै गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गराउन सफल भए।

खेलको रेफ्री सिन्धुपाल्चोक टाइगर (कृष्ण मगर) थिए, जसले दोस्रो खेलमा नेपाली खेलाडी लोकु सिङलाई पराजित गर्दै विजयी उपाधि समेत हात पारे।

कार्यक्रममा नेस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घले प्रमुख आतिथ्य र मनाङका प्रमुख जिल्ला अधिकारी नवराज पौडेल विशेष अतिथि रहेका थिए।

युनिकाले यसअघि पनि विश्वकै अग्लो स्थानमा रेस्लिङ खेलेको कीर्तिमान कायम गरिसकेकी थिइन् ५ हजार ६४४ मिटर उचाइमा रहेको कालापत्थरमा रेस्लिङ खेल्दै।

नेपालमा रेस्लिङको पहिचानलाई विश्वभर फैलाउन उनका निरन्तर प्रयासले नेपाली खेलकुदलाई नयाँ उचाइमा पुर्‍याइरहेको छ।