१२ मंसिर, काठमाडौं । हङकङमा बुधबार राति लागेको भीषण आगलागीमा मृत्यु हुनेको संख्या ९४ पुगेको छ भने केही मानिसहरूको अवस्था अझै अज्ञात रहेको छ। सुरक्षाकर्मीका अनुसार मृतकमध्ये अधिकांश मानिस सुतिरहेको समयमा धुवाँको कारण ज्यान गुमाएका हुन्।
प्रारम्भिक अनुमान अनुसार आगलागी विद्युत् सर्टबाट सुरु भएको हुनसक्ने आशंका गरिएको छ। तथापि, सही कारण पत्ता लगाउन विस्तृत अनुसन्धान सुरु गरिएको छ।
आगलागी घना जनसंख्या भएको आवासीय क्षेत्रमा मध्यराततिर सुरु भएको थियो। प्रभावित भवनहरूमा विदेशी कामदारदेखि स्थानीय परिवारसम्म बसोबास गर्दै आएका थिए।
घटनास्थलमा उद्धार कार्य अझै जारी छ भने घाइतेहरूलाई विभिन्न अस्पतालमा भर्ना गरिएको छ। घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको बताइएको छ।
आगलागीबाट विस्थापित भएकाहरूका लागि अस्थायी बसोबासको व्यवस्था नगर प्रशासनले गरेको छ। हङकङ प्रशासनले मृतक परिवारलाई आवश्यक सहयोग र राहत तथा पुनर्स्थापनाका कार्यक्रम अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।





