१२ मंसिर, काठमाडौं । श्रीलंकामा भारी वर्षापछि आएको बाढी र पहिरोले ५६ जनाको मृत्यु भएको छ भने २१ जना बेपत्ता भएका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले यसलाई पछिल्ला वर्षहरूमा देशमा भएको सबैभन्दा गम्भीर मौसम-सम्बन्धित विपत्ति मध्ये एक भएको जनाएका छन्।
श्रीलंकाको चिया बगान र बादुल्ला क्षेत्रमा पहिरोले गर्दा कम्तिमा २१ जनाको ज्यान गएको विपद् व्यवस्थापन केन्द्र ले जनाएको छ। सामाजिक सञ्जालमा प्रसारित भिडियोहरूमा बाढीले घरहरू बगाएको र सडकहरू डुबेको दृश्य देख्न सकिन्छ। प्रभावित परिवारहरूका लागि अस्थायी आश्रय स्थलहरू स्थापना गरिएको छ।
त्यसैबीच, चक्रवात ‘दिटवाहा’ शुक्रबार श्रीलंकाको पूर्वी तटतिर सर्दै गर्दा थप खराब मौसमको चेतावनी जारी गरिएको छ। यो चक्रवात भारततर्फ सर्दै गएको अनुमान गरिएको छ।





