श्रीलङ्कामा आएको विनाशकारी बाढी र पहिरोबाट मृत्यु हुनेको संख्या ३३० नाघेको छ। चक्रवात ‘दिट्वाहा’ ले देशभर व्यापक क्षति पुर्याउँदै ठूलो मानवीय संकट निम्त्याएको अधिकारीहरूले बताएका छन्। विपद् व्यवस्थापन केन्द्रका अनुसार २०० भन्दा बढी व्यक्ति अझै बेपत्ता छन् भने करिब २० हजार घर पूर्णरूपमा ध्वस्त भएका छन्।
उद्धार तथा राहतका लागि अस्थायी शिविर स्थापना गरिएको छ जहाँ अहिले एक लाखभन्दा बढी नागरिक आश्रय लिन बाध्य बनेका छन्। देशको करिब एक तिहाइ क्षेत्रमा विद्युत् तथा खानेपानी सेवा ठप्प हुँदा जनजीवन झनै कठिन बनेको छ।
चक्रवातको विध्वंसकारी प्रभावपछि सरकारले राष्ट्रव्यापी आपतकाल घोषणा गरेको छ। राष्ट्रपति अनुरा कुमारा दिसानायकेले यो प्रकोप देशको इतिहासकै सबैभन्दा चुनौतीपूर्ण रहेको उल्लेख गर्दै क्षतिको परिमाणका कारण पुनर्निर्माणमा कति समय लाग्ने यकिन गर्न कठिन भएको बताए।
श्रीलङ्का सरकारले अन्तर्राष्ट्रिय समुदायसँग सहयोगका लागि औपचारिक आग्रह गरेको छ। विदेशमा रहेका श्रीलङ्कालीहरूलाई समेत प्रभावितहरूका लागि सहयोग जुटाउन अनुरोध गरिएको छ।
चक्रवात दिट्वाहा शुक्रबार बिहान पूर्वी तटमा प्रवेश गर्दै देशभर तीव्र वर्षा र बाढी ल्याएको थियो। अहिले चक्रवात देश बाहिर सरिसकेको भए पनि यसको क्षतिको प्रभाव भारी रहेको सरकारी अधिकारीहरूले जनाएका छन्।





