आर्थिक

लघुवित्तको धितो कर्जा सीमा १५ लाख पुग्यो, भुक्तानी तालिका पनि परिमार्जन हुने

१५ मङ्सिर, चितवन । नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा अनुसार लघुवित्त वित्तीय संस्थाले धितोमा प्रवाह गर्न पाउने कर्जाको सीमा दोब्बरले बढाइएको छ। अब लघुवित्तले एकैजनालाई धितोका आधारमा १५ लाख रुपैयाँसम्म कर्जा दिन सक्ने छन्। यसअघि यो सीमा ७ लाख रुपैयाँ मात्र थियो।

राष्ट्र बैंकका अनुसार पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रभित्र अत्यधिक तरलता भए पनि कर्जा प्रवाह अपेक्षाकृत कम देखिएको परिस्थितिलाई ध्यानमा राख्दै लघुवित्तमार्फत कर्जा विस्तार सहज बनाउन यो व्यवस्था परिवर्तन गरिएको हो।

यससँगै, लघुवित्तबाट ऋण लिएका ग्राहकले कर्जा भुक्तानीमा समस्या भोगिरहेको अवस्थालाई सम्बोधन गर्न भुक्तानी तालिका परिमार्जन गर्न पाउने व्यवस्था पनि मिलाइने उल्लेख छ।

राष्ट्र बैंकका अधिकारीहरूका अनुसार नयाँ प्रावधानले ग्रामीण तथा साना उद्यमीहरूको कर्जा पहुँच विस्तार हुँदै आर्थिक गतिविधि बढाउने विश्वास लिएको छ।