काठमाडाैं । डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम)ले निरन्तर प्रविधिनवप्रवर्तनको यात्रालाई अझ सशक्त बनाउँदै नेपालमै पहिलोपटक दुईतर्फी नेपाली–भाषामा सञ्चालित संवादात्मक एआई सेवा Dish Home-AI “Khusi” सार्वजनिक गरेको छ। यो प्रणाली ग्राहकसँग मानव–जस्तै आवाजमा प्रत्यक्ष संवाद गर्ने क्षमता राख्छ, जसले ग्राहक सेवा क्षेत्रमा महत्वपूर्ण रुपान्तरण ल्याउने अपेक्षा गरिएको छ।
डिशहोम पछिल्ला वर्षहरूमा डिजिटल नवप्रयोगमा सक्रिय रहँदै आएको छ । केही समयअघि मात्रै कम्पनीले आफ्नो भर्चुअल प्रिभिलेज कार्ड सार्वजनिक गरेको थियो, जसमार्फत ग्राहकले २०० भन्दा बढी व्यवसायमा २५ प्रतिशतसम्म छुट पाउँदै आएका छन्।
त्यसैगरी, नेपाल प्रिमियर लिग २०२५ लाई आफ्नै ओटीटी प्लेटफर्म डिशहोम गो मार्फत प्रत्यक्ष प्रसारण गर्दै उद्घाटन खेलमै दुई लाखभन्दा बढी दर्शक जुटाउन सक्षम भई डिजिटल मनोरञ्जन क्षेत्रमा ऐतिहासिक उपलब्धि हासिल गरेको थियो।
भोइस–एआई प्रविधिमा डिशहोमको ठूलो कदम
डिशहोमले स्थानीय सन्दर्भ र उपयोगितालाई आधार मानेर एआई सेवा विकास तथा विस्तार गर्ने स्पष्ट रणनीति अपनाएको छ, र यही उद्देश्यका लागि डिशहोमले आफ्नो रणनितिका साझेदारसंग सहकार्य गरेको छ ।
डिशहोमका लागि एआई को प्रयोगक्षेत्रमा विशेष रूपमा सेवा निष्क्रिय भएका ग्राहकलाई नेपाली भाषामा मानव–जस्तै आवाजमा निरन्तर संवादमार्फत पुनःनवीकरणका लागि सम्पर्क गर्ने, सम्बन्धित अफरहरू प्रस्तुत गर्ने तथा कुराकानीको क्रममा प्राप्त हुने प्रतिक्रिया, गुनासो र सुझाव सङ्कलन गरी ग्राहक सेवा केन्द्र समुह सम्म पु¥याउने समावेश हुनेछ । साथै, कुराकानीकै क्रममा ग्राहकको भावनात्मक प्रतिक्रिया (सेंटिमेन्ट एनालाइसिस) विश्लेषण गरी प्रतिवेदन तयारी गर्ने क्षमता समेत एआईमा उपलब्ध हुनेछ ।
यसबाहेक, समय–समयमा नेटवर्कमा प्राविधिक समस्याले गर्दा सेवा अवरुद्ध हुने अवस्थाहरूमा एआई प्रणाली डिशहोमको केन्द्रीय प्रणालीसँग एकीकृत भई ग्राहकले ग्राहक सेवा केन्द्रमा कल गर्दा अवरोधको कारण, अनुमानित समाधान समय, तथा प्रगति विवरण प्रदान गर्न सक्षम हुनेछ । यसले ठूलो परिमाणमा कल आउने अवस्थाहरूमा ग्राहकलाई तुरुन्त र यथार्थ जानकारी उपलब्ध गराई ग्राहक सेवालाई थप प्रभावकारी बनाउनेछ ।
भविष्यका विस्तारित योजना
आगामी चरणमा डिशहोमले “खुशी” लाई ग्राहक पहिचान विवरण प्रमाणीकरण गर्ने, सही विवरण सङ्कलन गरी स्वचालित रूपमा ग्राहक डेटाबेसमा अद्यावधिक गर्ने सुविधा सुरु गर्नेछ ।
जडान तथा प्राविधिक मर्मतसम्बन्धी समय व्यवस्थापनमा पनि खुशीको प्रयोग गरिनेछ, जसअन्तर्गत खुशीले ग्राहकसँग सम्पर्क गरी उपयुक्त समय माग्ने, व्यस्ततालाई ध्यानमा राख्दै समय पुनःसमायोजन गर्ने तथा सेवा गुणस्तरलाई सधैं समान र समयबद्ध बनाइ राख्नेछ, जसले ग्राहक अनुभवमा महत्वपूर्ण सुधार ल्याउनेछ ।
फेसबुक मेसेंजर र वेबच्याटमार्फत प्रदान हुँदै आएको सामान्य जानकारीका लागि प्रयोग हुने च्याटबोटमा समेत “खुशी” एकीकृत गरिँदैछ, जसलाई आगामी चरणमा व्हाट्सएप र भाइबरमा विस्तार गरिने योजना छ ।
“खुशी” को प्रभावकारी उपयोग नेपाली भाषामा आधारित संवादात्मक एआई प्रणालीको स्तर, दायरा र सुधारमा निर्भर छ भन्ने कुरालाई आत्मसाथ गरी एआई प्रविधिको प्रगति र व्यवसायिक प्रयोगलाई सुदृढ बनाउन डिशहोमले अन्तर्राष्ट्रिय एआई अनुसन्धान तथा विकास संस्थासँग सहकार्य गर्दै नेपाली भाषाको संवाद क्षमता अभिवृद्धिका लागि दीर्घकालीन परियोजनामा सहाकार्यका लागी तयारी गर्दैछ । डिशहोमले विगतदेखि वर्तमानसम्म सञ्चालित आफ्नो विशाल डेटाबेसलाई परिक्षणको क्रममा अनुसन्धान तथा प्रशिक्षणका लागि उपलब्ध गराउन सकिने”, डिशहोमका प्रवक्ताले बताए ।
डिशहोमले नेपालमा एआई प्रविधिको व्यावसायिक उपयोगमा नयाँ मापदण्ड स्थापित गर्नेछ । “खुशी”को आगमनसँगै डिशहोमले ग्राहक सेवामा अधिक डिजिटल, छरितो, मानवीय–शैलीअनुकूल एआईमा आधारित प्रविधिको विकाशको दिशामा दृढतापूर्वक अघि बढेको छ ।





