बसन्ती धामी/२६ मङ्सिर, काठमाडौँ । नेपाली काँग्रेस क्षेत्र न. ९ ले फागुन २१ गते हुने आम निर्वाचनका लागि ८० वर्ष नाघेका वृद्ध नेता ध्यान गोविन्द रञ्जित र दामोदर गौतमलाई राष्ट्रिय सभा निर्वाचनका लागि सिफारिस गरेको छ भने प्रत्यक्ष सङ्घीय निर्वाचन र सङ्घीय समानुपातिक निर्वाचन प्रणालीका लागि १५ जनाको नाम सिफारिस गरेर नेपाली काँग्रेस काठमाडौँ जिल्लामा बुझाएको क्षेत्रीय सभापति जयकृष्ण महर्जनले सुर्यखबर प्रतिनिधिलाई जानकारी दिए । सभापति महर्जनले आफूले श्रीमान् श्रीमतीको नाम पठाउन हुन्न भन्दा पनि नमानेका कारण झपारेको भए पनि आफूलाई दबाब आएका कारण पछाडि हट्नुपरेको स्वीकार गरेका छन् । क्षत्र
ज्यानजीको भावना र काँग्रेस केन्द्रीय समितिको परिपत्र विपरीत उक्त क्षेत्रका केन्द्रीय सदस्यहरू ध्यान गोविन्द रञ्जित, नानु बास्तोला लगायत केन्द्रीय नेताहरूले क्षेत्रीय समितिलाई दबाब दिएर केन्द्रको परिपत्र लत्त्याएका छन् । क्षत्रीय सभापति जयकृष्ण महर्जनको नाम क्षेत्रबाट सर्बसम्मती भएको एक सदस्यले बताए ।
क्षेत्रीय समिति सभापति जयकृष्ण महर्जनले तीन पटक बैठक राखेर तीन जनाको नाममा सहमति गराउन गरेको प्रयास विफल भएपश्चात् वृद्ध नेतादेखि श्रीमान् श्रीमतीको नाम समेत क्षेत्रले सिफारिस पठाएको हो । अधिकांश नेताहरू यसभन्दा अगाडि पटक पटक अवसर पाइसकेका र क्षेत्रमा अलोकप्रिय हुँदाहुँदै पनि टिकट सिफारिस गराउन विभिन्न माध्यमबाट दबाब दिएको बताइन्छ ।
यसरी सिफारिस हुनेहरूमा ८१ वर्ष पार गरेर पटक पटक अवसर पाइसकेका ध्यान गोविन्द रञ्जित र २०५१ मा प्रतिनिधिसभामा उम्मेदवार बनिसकेका दामोदर गौतम, त्यसैगरी, पटक पटक अवसर पाइसकेका श्यामकृष्ण खड्का र खड्काकी श्रीमती कल्याणी खड्का दुई-दुई पटक उपमेयरको टिकट पाइसकेको हुँदा अधिकांश अन्य स्थानीय नेताहरू खड्का परिवारसँग असन्तुष्ट देखिन्छन् । खड्का श्रीमतीले यस पटक पनि समानुपातिकमा दाबी गरेकी छिन् भने श्रीमान्ले प्रत्यक्ष निर्वाचन प्रणालीमा उम्मेदवार बन्न नाम सिफारिस गराएका छन् ।
त्यस्तै स्थायी घर हात्तीगौंडाबाट स्युचाटार बसाइ सरेका क्षेत्रीय प्रतिनिधि राजन खत्रीले पनि प्रत्यक्ष निर्वाचन प्रणालीमा नाम सिफारिस गराउन सफल भएका छन् ।
केन्द्रीय सदस्य नानु बास्तोला, महाअधिवेशन प्रतिनिधि श्यामकृष्ण खड्का र धर्मराज गौतमले यसभन्दा अगाडि प्रदेश सदस्यमा नेपाली काङ्ग्रेसबाट टिकट पाइसकेका व्यक्ति हुन् ।
यसभन्दा अगाडिको आम निर्वाचनमा प्रदेश सभा (क)बाट केन्द्रीय सदस्य नानु बास्तोला र प्रदेश (ख)बाट महाधिवेशन प्रतिनिधि श्यामकृष्ण खड्का र त्यसैगरी २०७४ मा महासमिति सदस्य धर्मराज गौतम उम्मेदवारी बनि पराजित भइसकेका व्यक्ति हुन् ।
त्यसैगरी समानुपातिक निर्वाचन प्रणालीतर्फ, किरण गिरी, गौरीप्रसाद दवाडी, सुधा रिजाल, डा. अमिता प्रधान, दिलमाया अधिकारी, गोमा गुरुङ र कल्याणी खड्कालाई समानुपातिक निर्वाचनतर्फ नाम सिफारिस गरेको छ
नेपाली काँग्रेसको केन्द्रीय समितिले पठाएको परिपत्रअनुसार प्रत्येक निर्वाचन क्षेत्रबाट ३ जनाको नाम सिफारिस पठाउनु भनिएता पनि अधिकांश केन्द्रीय सदस्य, पदाधिकारी रहेका क्षेत्रहरूमा दर्जनौँ सिफारिस आइरहेको छन् । नयाँलाई अवशर दिनुपर्नेमा पुरानालाई नै दिने र जोडीहरु सिफारिस हुनुले पार्टीको निदेशन र भावना कुल्चिएको देखिन्छ ।





