२९ मंसिर, काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा उपमहासचिव पदका दाबेदार योगेश भट्टराईले आफू व्यक्तिगत रूपमा उम्मेदवारी दिएको बताएका छन् । महाधिवेशन स्थलमा पत्रकारसँग कुरा गर्दै उनले कुनै समूहगत प्यानल नबन्ने र सबै उम्मेदवारी व्यक्तिगत हुने स्पष्ट पारे ।
भट्टराईले केन्द्रीय समिति बैठकमा एक्कासी विधान संशोधनको प्रस्ताव ल्याई पारित गरिएकोप्रति असहमति जनाउँदै यसको समीक्षा आगामी दिनमा गरिने बताए । तीन महिना अघि मात्र टुंगो लागेको विधान उल्ट्याउनु उपयुक्त नभएको उनको भनाइ छ ।
उनले विधान महाधिवेशनको गरिमा जोगाउनुपर्ने र पार्टीभित्र संख्या बढाउनुभन्दा आपसी समझदारी र मन मिलाउन जोड दिनुपर्ने धारणा राखे ।





