समाचार

एमाले अध्यक्ष उम्मेदवारी शुल्क १५ हजार, आजबाट दर्ता सुरु

२९ मंसिर, काठमाडौं । नेकपा (एमाले) को ११औं महाधिवेशन अन्तर्गत मंगलबार हुने मतदानका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन प्रक्रिया सुरु भएसँगै केन्द्रीय निर्वाचन आयोगले उम्मेदवारी दर्ता शुल्क तोकेको छ ।

आयोगका अनुसार अध्यक्ष पदका उम्मेदवारले १५ हजार रुपैयाँ शुल्क बुझाउनुपर्नेछ । पदाधिकारी तथा केन्द्रीय आयोग अध्यक्षका लागि १० हजार रुपैयाँ र केन्द्रीय सदस्य तथा आयोगका पदाधिकारीका लागि ५ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

नयाँ नेतृत्व चयनका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्रतिस्पर्धामा उत्रिएका छन् । दुवै नेताले उपाध्यक्ष, उपमहासचिव र सचिवसहितको प्यानल तयार गरेर चुनावी मैदानमा होमिएका छन् ।

एमालेले आगामी कार्यकालका लागि १९ जना पदाधिकारीको व्यवस्था गरेको छ र सबै पदमा निर्वाचन हुने निश्चित भएको छ । मतदान पुस १ गते मंगलबार बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म हुने कार्यतालिका तय गरिएको छ ।