समाचार

गौतम भन्छन्: मतदान सकिएको दुई घण्टाभित्र नतिजा आउँछ

२ पुस, काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको नतिजा आज राति सार्वजनिक हुने भएको छ। एमालेका नेता राजेन्द्र गौतमले बताए अनुसार, राति साढे १० बजेअघि नै परिणाम सार्वजनिक गरिनेछ।

भृकुटीमण्डपमा बुधबार बिहान आयोजित प्रेस ब्रिफिङमा गौतमले मतदान सकिएको दुई घण्टाभित्र नतिजा सार्वजनिक हुने जानकारी दिए।

उनका अनुसार, मतदानमा प्रयोग गरिएको भोटिङ मेसिन र प्रतिनिधिहरूको संख्यालाई ध्यानमा राख्दा, एक प्रतिनिधिले मत हाल्न लगभग २० मिनेट लाग्ने र एकपटकमा ८० जनाले भोट हाल्न सक्ने व्यवस्था गरिएको छ।

उनले भने, “यसरी हेर्दा हामीले योजना अनुसार आठ–साढे आठ घण्टामा मतदान सम्पन्न गर्ने लक्ष्य राखेका हौं। निर्वाचन आयोगको सूचना अनुसार हामी अपेक्षित तालिकाभन्दा अगाडि छौं।”