राजनीति

जेन–जी घटनाको छानबिन तिव्र, पूर्वगृहमन्त्री रमेश लेखक बयानबारे अन्योलमा

९ पुस, काठमाडौं । जेन–जी आन्दोलन सम्बन्धी घटनाको जाँच गरिरहेको आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक आन्तरिक परामर्शमा जुटेका छन् । स्रोतका अनुसार उनी पार्टी नेतृत्वसँगै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग समेत सल्लाह–परामर्श गरिरहेका छन् ।

नेता लेखकले पनि बयान दिने विषयमा छलफल भइरहेको पुष्टि गरेका छन् । आयोगले बयानका लागि पत्र पठाउने निर्णय गरेको जानकारी आफूले पाएको भए पनि हालसम्म औपचारिक पत्र नआएको उनले बताए । “पत्र पठाइएको भन्ने सुनेको छु, तर अहिलेसम्म पाएको छैन । के गर्ने भन्नेबारे सल्लाह गर्दैछु,” उनले संक्षिप्त प्रतिक्रिया दिएका छन् ।

विशेष अदालतका तत्कालीन पूर्वअध्यक्ष गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले मंगलबार लेखकलाई बयानका लागि बोलाउने निर्णय गरेको हो । आयोगले जेन–जी आन्दोलनका क्रममा भएका घटनामा तत्कालीन सरकारका जिम्मेवार पदाधिकारीलाई अनुसन्धानको दायरामा ल्याउने जनाएको छ ।

गत भदौ २३ र २४ गते भ्रष्टाचारविरुद्ध र सुशासनको माग गर्दै जेन–जी युवा पुस्ताले गरेको प्रदर्शनका क्रममा सुरक्षा बलको दमन भएको थियो । सो क्रममा गोली प्रहार र आगजनीका घटनामा परेर ७६ जनाको ज्यान गएको थियो । घटनापछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढलेको थियो । त्यसबेला रमेश लेखक गृहमन्त्रीको जिम्मेवारीमा थिए ।

यसैबीच, एमाले अध्यक्षसमेत रहेका ओलीले भने बयान नदिने अडान लिँदै आएका छन् । तर लेखकले भने अझै अन्तिम निर्णय गरिसकेका छैनन् । कांग्रेस महामन्त्री गगन थापा पक्षले जेन–जी आन्दोलनका घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने भन्दै लेखकले आयोगमा उपस्थित भई बयान दिनुपर्ने माग गर्दै आएको छ ।

यसैबिच जेनजी आन्दोलन जाँचबुझ आयोगले बयानका लागि बोलाएपछि पूर्वगृहमन्त्री लेखक नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग परामर्श गर्दैछन् । आज बुधबार, आयोगलाई दिइने बयानबारे छलफल गर्न उनी देउवाको महाराजगञ्जस्थित निवास जाँदैछन्।