९ पुस, काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यताको नवीकरण आज (बुधबार) मध्याह्न १२ बजेसम्म मात्रै गर्न सकिने भएको छ । क्रियाशील सदस्यता व्यवस्थापन समितिको निर्णय अनुसार सो समयपछि नवीकरण सम्बन्धी अनलाइन प्रणाली बन्द गरिने छ ।
समितिको सोमबार बसेको बैठकले मध्याह्न १२ बजे नवीकरणको ‘डाटा इन्ट्री’ रोक्ने निर्णय गरेको हो । बैठकपछि समिति सदस्य प्रकाश रसाइली ‘स्नेही’ले बुधबार मध्याह्न १२ बजे नवीकरणका लागि प्रयोग हुँदै आएको अनलाइन सिस्टम ‘लक’ हुने जानकारी दिएका छन् । उनका अनुसार आज साँझसम्म नवीकरण भएका क्रियाशील सदस्यताको विवरण प्रमाणीकरण गरेर पार्टीलाई बुझाइने छ ।
यसैबीच, नयाँ क्रियाशील सदस्यताको विवरण भने बिहीबार राति १२ बजेसम्म इन्ट्री गर्न सकिने समितिले जनाएको छ । उक्त प्रणाली पनि सो समयपछि स्वतः ‘लक’ हुनेछ ।
समितिले शुक्रबार नयाँ क्रियाशील सदस्यताको प्रमाणीकरण सम्पन्न गरी पार्टीलाई बुझाउने तयारी गरेको जनाएको छ ।





