१० पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच जारी वार्ता कुपण्डोलस्थित मेयर शाहका सहयोगी कुमार बेनको घरमा ठहरिएको छ। वार्ता निर्णायक मानिएको छ, तर हालसम्म सहमति हुन सकेको छैन।
वार्ताको क्रममा त्यहीँ रहेका जेनजी अगुवा सुदन गुरुङले दुई नेताहरूबीच सहमति नभएसम्म घरको गेटमा ताला लगाइदिएको जानकारी दिएका छन्। सामाजिक सञ्जालमा जारी भिडियो सन्देशमा गुरुङले भने, “हाम्रो दुईजना नेताहरू भित्र हुनुहुन्छ। जबसम्म उहाँहरू मिल्नुहुन्न, तबसम्म गेट खोलिँदैन। हामीले यहाँ ताला लगाएर राखिदिएका छौँ।”
गुरुङले आफूहरू गेटमा सुरक्षागार्डको भूमिका निर्वाह गरिरहेको र चाबी उनीहरूसँग रहेको समेत बताए। वार्ता अघि बढ्ने तरिका र सहमतिको खोजीको विषय अहिले सबैको ध्यानाकर्षणको केन्द्रमा छ।





