१५ पुस, काठमाडौं । नेपाली कांग्रेसले समानुपातिक उम्मेदवारहरूको बन्दसूची तोकिएको समयभित्र निर्वाचन आयोगमा बुझाउन नसकेको छ। पार्टीका एक पदाधिकारीका अनुसार बन्दसूची टुंग्याउने काम जारी छ।
मंगलबार बिहान प्रतिक्रिया दिँदै पार्टीका पदाधिकारीले भने, “अहिले हामी निर्वाचन आयोगभन्दा बाहिर छौं र काम टुंग्याउँदैछौं।”
निर्वाचन आयोगले समानुपातिक उम्मेदवारहरूको बन्दसूची बुझाउन पुस १३ र १४ गते (आइतबार र सोमबार) समय तोकेको थियो। सोहीअनुसार सोमबार रातभर नामावली बुझाउने प्रक्रिया चलिरहेको थियो।
सुरुमा कांग्रेस नेता मीन विश्वकर्मा र पार्टीका पदाधिकारी नामावली लिएर निर्वाचन आयोग पुगेका थिए। मंगलबार बिहान करिब चार बजेतिर महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री जीवन परियार पनि आयोग पुगेका थिए। तर बोकेको फाइलमा पार्टी सभापति शेरबहादुर देउवाको हस्ताक्षर नभएको पाइएपछि आयोगका कर्मचारीले नामावली बुझ्न अस्वीकार गरे।
त्यसपछि महामन्त्री शर्माले सभापतिको हस्ताक्षर गराउन पार्टीका प्रतिनिधिलाई देउवा निवास महाराजगञ्ज पठाएका थिए। उनीहरू समाचार तयार पार्दासम्म आयोगको कार्यालय फर्किएका छैनन्।
आयोगका एक कर्मचारीका अनुसार कांग्रेसले यसअघि नै निवेदन दर्ता गरिसकेको र सनाखत प्रक्रिया पूरा भइसकेकाले आज पनि बन्दसूची बुझाउन सक्ने अवस्था रहेको छ।



