१६ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएका विवाद अन्त्य गरी एकताबद्ध रूपमा निर्वाचनमा होमिनुपर्ने बताएका छन्।
राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा सन्देश जारी गर्दै उनले भावी पुस्तालाई समृद्ध नेपाल हस्तान्तरण गर्न सबै प्रकारका मतभिन्नता र व्यक्तिगत महत्वाकांक्षा समाप्त गरेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए।
उनले विपी कोइरालाले व्यक्तिगत जोखिम र राष्ट्रको अस्तित्वबीच राष्ट्रलाई प्राथमिकता दिँदै ऐतिहासिक निर्णयसहित प्रवासबाट स्वदेश फर्किएको उदाहरण स्मरण गराउँदै भने, “आज लोकतन्त्रको रक्षाका लागि र भावी युवा पुस्तालाई शान्ति र समृद्धिको बाटो देखाउन हामीले हाम्रा अप्रिय विवाद, मतभिन्नता र व्यक्तिगत महत्वाकांक्षालाई समाप्त गरेर आगामी राष्ट्रिय निर्वाचनमा होमिनुको विकल्प छैन।”
डा. कोइरालाले पाँच दशकपछि पुनः विपीको विचारलाई मन, वचन र कर्मले आत्मसात् गर्नुपर्ने अवस्था आएको उल्लेख गर्दै कांग्रेस मात्र होइन, सम्पूर्ण नेपालीमा जागरुकता, सतर्कता र ऐक्यबद्धताको खाँचो रहेको बताए।





