२१ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा राष्ट्रिय सभामा दलका नेता कृष्णप्रसाद सिटौलाले पार्टीले आगामी चुनावमा रणनीतिक तालमेल गर्ने तर प्रतिनिधि सभामा गठबन्धन नगर्ने आफ्नो स्पष्ट नीति कायम रहेको बताएका छन्।
सोमबार पत्रकारहरूसँगको संवादमा सिटौलाले भने, “राष्ट्रिय सभामा रणनीतिक तालमेल हुन्छ। प्रतिनिधि सभामा गठबन्धन नगर्ने कांग्रेसको बटम लाइन हो।”
सिटौलाले पार्टीको विशेष महाधिवेशन नहुने पनि ठोकुवा गरे। उनले भने, “विशेष महाधिवेशन हुँदैन, हुन दिँदैनौं। कांग्रेस चिरा हुँदैन, हामी त्यो हुन दिदैनौं। पार्टी फुटोस् वा कमजोर होस् भन्ने चाहना राख्नेहरूलाई सफल हुन दिँदैनौं।”
त्यस्तै, महाधिवेशनको माग राखेर हस्ताक्षर गरेका प्रतिनिधिहरूलाई काठमाडौं नआउन सिटौलाले आग्रह गरे। उनले भने, “हस्ताक्षर गर्नेलाई काठमाडौँ नआउन आग्रह गर्दछु। चुनावको तयारीमा लाग्न आग्रह गर्दछु।”
सिटौलाको स्पष्ट अभिव्यक्तिले आगामी चुनाव र कांग्रेसको आन्तरिक एकता दुवैमा पार्टीको दृढ स्थिति देखाएको छ।





